२३ असार २०८३, मंगलबार

राराको किनारमा मन्त्रिपरिषद बैठक, चीनको हिल्सासम्म फास्ट ट्र्याक निर्माण गरिने

चैत ३०, २०७४
राराको किनारमा मन्त्रिपरिषद बैठक, चीनको हिल्सासम्म फास्ट ट्र्याक निर्माण गरिने

मुगु, ३० चैत– कर्णाली प्रदेशको पाँचौं मन्त्रिपरिषद बैठक शुक्रवार साँझ मुगुमा रहेको रारा ताल किनारमा बसेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली समेतकाे उपस्थितिमा सम्पन्न  बैठकले ५ विषयमा निर्णय गरेको छ । बैठकले कर्णालीको राजधानी सुर्खेतबाट चीनसँगको नाका हिल्सासम्म द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माण गर्ने निर्णय गरेको छ । 

यस्तै चीनसँग जोडिएका कर्णाली प्रदेशका तीनवटा नाका खोली सञ्चालनमा ल्याउनका लागि चीन सरकारसँग छलफल गर्न केन्द्र सरकारलाई आग्रह गर्ने पनि निर्णय भएको छ । 

कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले भेरी करिडोर सडक आयोजनालाई राष्ट्रिय गौरभको परियोजनामा समावेश गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै कर्णाली पर्यटन प्राधिकरण गर्ने निर्णय समेत गरिएको छ ।

कर्णालीमा एकीकृत बस्ती विकासको योजना बनाएर कार्यान्वयन गर्ने तथा राजधानी सुर्खेतमा व्यवस्थित शहरीकरणको योजना शुरु गर्ने निर्णय पनि कर्णालीको मन्त्रिपरिषद बैठकले गरेको छ । 

कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीमा हुने विकास निर्माणका कामका लागि बजेटको कमि हुन नदिने प्रतिबद्धता जनाए । ‘कर्णालीमा पर्यटन, कृषि, खनिज, जलस्रोतलगायतको संभावना छ,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘तपाईंहरु प्रदेशको समृद्धिका लागि काम गर्नुहोस् । पैसाका कमि हुन दिइने छैन ।’

कर्णालीको प्रदेश सरकारले मनाउन लागेको रारा–कर्णाली पर्यटन वर्षको उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रवार साँझ रारा पुगेका हुन् । प्रधानमन्त्री ओलीले शनिवार विहान (वैशाख १ गते) राराको किनारबाटै देशबासीका नाममा सम्बोधन समेत गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्