
तनहुँ, ५ वैशाख- लोपोन्मुख कुसुन्डा जातिका राजामामा कुसुन्डाको बुधबार बिहान निधन भएको छ ।
अन्दाजी ७० वर्षीय राजामामाको बुधवार बिहान करीब ५ बजे व्यास- ११ डिहीगाउँस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
राजामामाको निधनपछि परिवारलाई सान्त्वना दिन पुगेका तनहुँ क्षेत्र नम्बर- १ का सांसद कृष्णकुमार श्रेष्ठ 'किसान'ले अन्तिम संस्कारका लागि लैजाँदै गरिएको शवलाई काँध थापेका छन् ।
मादीसेती दोभानमा अन्तिम संस्कारका लागि लैजाँदै गर्दा सांसद किसानले काँध थापेका हुन् ।
त्यसअघि उनले राजामामाको पार्थिव शरीरमा माल्यार्पण गरेका थिए । राजामामाको निधनले आफूलाई अत्यन्तै दुखित् तुल्याएको भन्दै उनले रानीमाइजू इन्द्रमायालाई सान्त्वना दिएका थिए ।
जंगलमा बस्दै आएको राजामामा कुसुन्डाको परिवारलाई नेपाल आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानले संरक्षण गर्दै आएको छ । व्यास- ११ डिहीगाउँमा प्रतिष्ठानले एक रोपनी जग्गा किनेर आवास समेत निर्माण गरिदिएको छ ।