०८ साउन २०८३, शुक्रबार

जनतासँग गरेका बाचा पूरा गर्न सरकारलाई नेता पौडेलको आग्रह

जनतासँग गरेका बाचा पूरा गर्न सरकारलाई नेता पौडेलको आग्रह

म्याग्दी ५ वैशाख - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गर्नुभएको छ । 

नेपाली काँग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको सपना देखाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई भ्रममा पारेको टिप्पणी गर्नुभयो । 

प्रधानमन्त्री र मन्त्रीहरूले भाषणमा सपना देखाउने तर व्यवहारमा केही गर्न नसकेको भन्दै नेता पौडेलले बहुमत प्राप्त सरकारलाई जनताले राहत महसुस गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । 

पार्टी सभापति शेरबहादुर देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लगाउँदै उहाँले कार्यकर्ताको योगदान, क्षमता र लोकप्रियताको सम्मान गर्न नसक्दा काँग्रेसले तीनै तहको चुनावमा नराम्रो हार ब्यहोर्नुपरेको बताउनुभयो । 

चुनावी हारको विषयमा निर्मम समीक्षा हुन जरुरी रहेको बताउँदै नेता पौडेलले सभापति देउवाले नैतिक जिम्मेवारी लिनुपर्ने दाबी गर्नुभयो । 

निर्वाचनमा काँग्रेस पराजित भए पनि सिद्धान्त र विचारले जितेको उहाँको दाबी थियो । जनताको सेवा र उनीहरूको स्वार्थलाई प्राथमिकता दिएर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । 


यसैगरी आज बाग्लुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले देश र जनताको सेवामा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । 


अन्य दलले झूठा नारा र आश्वासन बाँडेको भन्दै उहाँले विकासको नेतृत्व काँग्रेसले गर्दै आएको दाबी गर्नुभयो । “जनताको प्यारो काँग्रेस बन्न थप मेहनती र कर्मशील बन्न आवश्यक छ” उहाँले भन्नुभयो, “अब काँग्रेस जगाऔं अभियान शुरु हुन्छ ।” 

पार्टीभित्र मौलाएको गुटले चुनावमा हार ब्यहोर्नु परेको उहाँको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्