०३ असार २०८३, बुधबार

नेटवर्किङ ठगी धन्दाको १५ वर्षे श्रृंखला : गोल्डक्वेस्ट, युनिटी हुँदै आईबोससम्म

बैशाख ९, २०७५
नेटवर्किङ ठगी धन्दाको १५ वर्षे श्रृंखला : गोल्डक्वेस्ट, युनिटी हुँदै आईबोससम्म

काठमाडौं, ९ वैशाख– सर्वोच्च अदालतले २०६८ सालमा नै पिरामिड शैलीको व्यापार अर्थात नेटवर्क व्यवसायमाथि प्रतिबन्ध लगाइसकेको छ । तर त्यसयता पनि पटक–पटक नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोह प्रहरी फन्दामा परेका छन् ।

प्रहरीले श्रृंखलाबद्ध उजागर गरेको घटना हेर्दा नेपालमा अझै पनि नेटवर्किङ धन्दा चलिरहेको पुष्टि हुन्छ ।

वैशाख ५ गते बुधवार मात्रै पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने आईबोस ग्लोबल मार्केटिङ कम्पनीको पर्दाफास गर्‍यो । शुरुमा सीआईबीले पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरिरहेको आरोपमा काठमाडौंको चुच्चेपाटीमा रहेको कम्पनीबाट सञ्चालकसहित ६६ जनालाई पक्रिएको थियो । सीआईबीका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार त्यसमध्ये ५९ जना भने सामान्य सदस्यमात्र रहेका देखिएपछि छाडिएको छ । बाँकी सात जनालाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ठगीमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा कम्पनी सञ्चालक काभ्रे पाँचखालका राजकुमार दंगाल, दोलखा लामिडाँडाँका नारायण सिवाकोटी, रामेछाप बखालीका भक्तबहादुर नेपाली, रामेछापकै रविन नेपाली, सोलुखुम्बुका प्रदिप राई, रामेछापकी तिर्सना सुनुवार र सामेछापकै पुर्णबहादुर श्रेष्ठ छन् । सीआईबी प्रमुख डीआईजी पुस्कर कार्कीका अनुसार, उनीहरूले आईबोस ग्लोबल मार्केटिङको सदस्य बनाएर ७ हजार ८ सय २४ जनालाई ठगी गरेको भेटिएको छ ।

यद्यपि यो अहिले सम्मको तथ्याङ्क मात्र हो, यसभन्दा पनी ठगिनेको संख्या बढ्न सक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका यिनीहरूले विगत ढेड वर्षदेखि ठगी गर्दै आएका थिए । आईबोस त एउटा पछिल्लो उदाहारण मात्र हो । यसअघि यस्तै प्रकारका नेटवर्कका नाममा ठगी गर्ने थुपै्र गिरोहहरूको मुखुण्डो उदाङ्गी सकेको छ ।

यस्तो छ नेटवर्किङ ठगीको १५ वर्षे श्रृंखला

श्रृंखला १ – गोल्डक्वेस्ट

झण्डै १५ वर्षअगाडि ३५ हजार तिरेर सदस्य बनेबापत सुनको सिक्का पाउने र त्यसबापत धेरै नाफा हुने प्रलोभनमा नेपालमा गोल्डक्वेस्ट नामको ठगी धन्दा शुरु भएको थियो । यसको मुख्य कार्यालय हङकङमा नै थियो । भारतीय नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा १० हजारभन्दा बढी ठगिएको खुलेपछि सन् २००३ मा यसमा प्रतिबन्ध लाग्यो । यसमा संलग्न मुख्य नाइके भने पक्राउ नै परेनन् ।

श्रृंखला २ – युनिटी लाइफ

वि.सं. २०६० सालमा युनिटी लाइफ इस्योरेन्सको नाममा उही शैलीको ठगी धन्दा शुरु भयो । युनिटीले बिमा, स्वास्थ्य लगायतका प्रलोभनमा पारेर ३ लाख ५० हजार सदस्यबाट पाँच अर्बभन्दा बढी रकम उठाएर ठगी गरेको खुल्यो । साथै २०६७ मा युनिटीका सञ्चालक काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्रीलगायत कारबाहीमा परे ।

श्रृंखला ३ – हर्बो इन्टरनेसनल

हर्बो इन्टरनेसनल नेटवर्कले पनि हर्बल सामग्री व्यापारको आवरणमा ठगी गरेको खुल्यो । प्रहरी छापापछि हर्बो इन्टरनेसनलसमेत बन्द नै भयो । लगत्तै सर्वोच्च अदालतले २०६८ मा पिरामिड शैलीको व्यापारमाथि प्रतिबन्ध लगायो । 

श्रृंखला ४ – क्यूनेट

२०७४ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबीले क्यूनेट नामक नेटवर्किङ व्यवसाय बाट करोडौं रकम ठगी भएको भन्दै यसका संलग्न १ सय २ जना पक्रिएको थियो । त्यसमध्ये १४ जनालाई त प्रहरीले मुद्दा नै चलायो । त्यसमा चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रियको संलग्नता भेटिएको थियो । 

श्रृंखला ४ – आइबोस ग्लोबल मार्केटिङ

गत बुधबार प्रहरीले उजागर गरेको आईबोस नेटवर्किङ व्यवसायबाट पनि करोडौं रकम ठगी भएको खुलेको थियो । आईबोसको सदस्य बन्नका लागि शुरुमा १५ हजार ९ सयदेखि ८० हजारसम्मको सामान किन्नुपथ्र्यो ।

सीआईबीका प्रवक्ता श्रेष्ठका अनुसार, पैसा तिरेवापत सदस्यले सामान त पाउँथे तर, मूल्यभन्दा आधा बराबरको मात्रै । त्यसपछि उनीहरूलाई थप सदस्य बनाएर कमिसन आउने लोभ देखाइँदै आएको थियो । यी त केही ठूला नेटवर्किङ गिरोह मात्र हुन् । यो बीचमा बीडब्लूबीएललगायत थुप्रै साना नेटवर्किङ ठगी गर्नेहरू पलायन भइसकेका थिए ।

सीआईबीका डीआईजी कार्कीका अनुसार, यस्ता गिरोहले एकाएक ठूलो आम्दानी गर्न सकिने भनेर सर्वसाधारणलाई भ्रममा पारेर ठगी रहेका छन् । यस्ता गिरोहको फन्दामा पर्नेमा सामन्य परिवारका व्यक्तिदेखि उच्च घरानियाहरू समेत रहेका छन् । अझ यस्ता गिरोहको अन्तर्राष्ट्रिय कनेक्सन समेत देखिएको छ । हङकङ, बैंकक, मलेसिया, इन्डिया लगायतमा समेत नेटवर्क ठगीको जालो फैलिएको अनुसन्धानबाट देखिएको छ ।

यसरी हुन्छ नेटवर्कबाट ठगी

शुरुमा यस्तो व्यवसायमा तोकिएको पैसा तिरेर सदस्य बन्छन् । ती सदस्यले पनि पुन: नयाँ सदस्य बनाउनुपर्ने हुन्छ । अनि त्यसबापत पुरानोलाई सिमित कमिसन आँउछ । तर यसका लागि सदस्य संख्या मिलाउनुपर्ने हुन्छ ।

प्रहरीका अनुसार यसरी सदस्य बनाउँदै जाँदा माथिल्लो लेयरका कर्मचारीले तल्लो लेयरकालाई ठग्दै जान्छन् । यसबाट सिमित व्यक्ति मालामाल हुन्छन्, धेरैजसो ठगिन्छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्