०१ असार २०८३, सोमबार
सन्दर्भ-लोकतन्त्र दिवस

रुबिन, जसले सारंगी बजाएर आन्दोलनकारीलाई जोस्याए

बैशाख १०, २०७५
रुबिन, जसले सारंगी बजाएर आन्दोलनकारीलाई जोस्याए

काठमाडौं,वैशाख– बाह्र बर्ष पहिले २०६२–६३ सालमा सम्पन्न जन–आन्दोलनले मुलुकमा राजनीतिक उथल पुथल ल्यायो । २४० वर्षदेखि शासन गरिरहेको राजसंस्थाको जरो उखेलियो । जनआन्दोलनमा राजनैतिक पार्टी मात्र होइन, राजनीतिक रंगले नमुछिएका स्वतन्त्र जनता पनि सडकमा ओर्लिए ।

जनताले आ–आफ्नो ठाउँबाट आन्दोलन गरे । राजाकै दरबार अगाडि राजतन्त्रविरुद्ध नारा लगाए । त्यतिबेला राजाको विरुद्धमा बोल्नका लागि मुटु बलियो हुनुपर्थ्यो । सरकारले चाह्यो भने क्षणभरमै प्रहरी कठघरामा थुन्ने गथ्र्यो । 

जन–आन्दोलन भएको पनि एक दशक बितिसकेको छ । दश वर्षको अन्तरालमा देशमा अन्यत्र धेरै ठूलो परिवर्तन भएपनि जनताको जीवन स्तरमा खासै सुधार आएन । 

राजसंस्थाका विरुद्ध सारंगी रेटेर चोटिलो प्रहार गरेर रुबिन गन्धर्वले चर्चा बटुले । भर्खरको ठिटो रुबिनलाई मिडियाले मात्र होइन, राजनीतिक दलका नेताले पनि राम्रैसँग नोटिस गरे । 

राजनीतिक माहोल तताएर स्टेजमा ठूल्ठूला नेता तथा कार्यकर्ताको आग्रहमा गीत गाउने एउटा ‘फुच्चे केटो’ले सबैको ध्यान खिचेको थियो । 

बसमा सारंगी बजाएर गीत गाउँदै हिँड्ने एउटा फुच्चे केटोले राजनीतिक पार्टीका कार्यकर्ताको आग्रहमा गीत गाउने अवसर मौका पाएको थियो, जनआन्दोलन– २ मा । ‘काठमाडौंका बसहरूमा, चोकहरूमा गीत गाउँदै हिँड्थें । सानैदेखि अन्यायको विरुद्धमा मेरो आवाज उठिरहन्थ्यो ।’ रुबिन भन्छन्, ‘मेरो बाल दिमागले त्यतिबेला नै निरङ्कुशता भनेको के हो भन्ने बुझिसकेको थियो ।’

‘हामीले देखेका सपना त पूरा भएका छैनन् । अझ धेरै सपना पूरा हुन बाँकी छन् ।’ त्यतिबेला जनवादी गायक जेवी टुहुरे, रामेश रायन लगायतका कलाकारसँग जनआन्दोलनमा गीत गाउँदै हिडेको स्मरण गर्दै उनी भन्छन्, ‘म चैं कुनै पार्टीको सदस्य थिइन । लोकतान्त्रिक आन्दोलनका लागि गीत गाउने एक युवा थिएँ । जुन पार्टीले पनि मलाई गीत गाउनका लागि बोलाउने गथ्र्यो ।’

‘पख्लास् तँलाई सामन्ती बजिया...’ भन्दै उनले आफूले गीत गाएको सम्झन्छन् ।

दश वर्षको अन्तरालमा रुबिनको जिन्दगीमा भने धेरै नै फरक भएको छ । गन्दर्भ संस्कृति तथा कला संगठनमा उपाध्यक्ष छन् उनी । अहिले पनि उनले सारङगीको धुनमा गीत गाउँदै आफ्नो गुजारा चलाएका छन् ।

‘सम्झनामा जनआन्दोलन केही तीतो पनि छ । केही मीठो पनि छ ।’ उनी सम्झन्छन्, ‘केही कुरा बोलिहाल्दा पनि प्रहरीले नजरबन्दमा राख्ने हुन् कि, थुन्ने हुन् कि भन्ने थियो । राजसंस्थालाई प्रत्यक्ष गाली गर्नु भनेको मृत्यु निम्त्याउनु जस्तै थियो ।’

अहिले भने छाती फुलाएर गाली गर्न सकिने स्थिति बनेको उनले लोकान्तरलाई अनुभव सुनाए । उनी सुनाउँछन्, ‘त्यो बेलामा मलाई किन्न पनि खोजे । पुलिस थर्काउने सारङ्गी फुटाइदिनु, पिट्नु त सामान्य थियो । कहिले मकवानपुर, नौबीसे लगेर मलाई छोडिदिन्थे ।’

किन त ? रुबिन बालक भएकै कारणले प्रहरीले थुनामा राख्न पाउँदैनथ्यो । तर, उनलाई कहिल्यै डर लाग्दैनथ्यो । सानैदेखि नै उनको स्वभाव हठी स्वभावको थियो ।

‘तपाईजत्तिको साहसिलो बच्चा हामीले देखेका थिएनौं । हामीले भूमिगत भएर भन्न नसकेका कुराहरु तपाईले प्रत्यक्ष भनिदिनुभयो’, प्रचण्ड तथा बाबुरामले त्यतिबेला आफूलाई फोनै गरेर बेलाबेलामा धन्यवादसहित भनेका शब्द उनी अहिले पनि सम्झन्छन् । 
जनआन्दोलनपछि ह्वात्तै चर्चामा आएका रुबिन अहिले भने निजी जिन्दगीमा व्यस्त छन् । गोरखाको लिगलिगकोटमा जन्मिए पनि उनले काठमाडौंलाई नै कर्मथलो बनाएका छन् । यो दश वर्षमा उनले बिहे मात्र गरेनन्, एउटी छोरीको बुबा पनि भइसकेका छन् । ‘एउटा बेला आउने रैछ, त्यो बेलामा माया पनि बस्दो रैछ । बिहे पनि गर्नुपर्ने रैछ, केटाकेटी उमेर सकिएपछिको उमेर त्यस्तै उमेर रहेछ ।’ उनी हाँस्दै सुनाउँछन्, ‘तर, अहिले मेरो संगत नै वौद्धिक समूहसँग भएको छ ।’

प्राय ठमेलमै भेटिने रुबिन अब भने आन्दोलनमा रुमल्लिने हो भने झन पछि परिने अनुभव सुनाउँछन् । ‘उपलब्धि त भएकै हो तर खबरदारी गर्नुपर्ने भने भएको छ ।’

‘देशमा लोकतान्त्रिक गणतन्त्र आउनु, एकात्मक राजतन्त्र ढल्नु, देश संघीयतामा जानु हाम्रा लागि सफलताका सूचक हुन् ।’ रुबिन आशावादी हुँदै थप्छन्, ‘जुन देशमा जीवन नै छैन, त्यो देशमा हाम्रो युवा जीवन खोज्न गइरहेका छौं । हामीले आफ्नै देश बनाउनुपर्नेमा युवा राजनैतिक कारणले नै अरुको देशमा जानुपरेको छ । यो समस्या हो ।’

तर, आन्दोलनले केही स्वरुप फेरेपनि उनको आम मान्छेको दैनिकीमा भने देखिने गरेर परिवर्तन ल्याउन सकेको छैन । जस्तो कि, हिजो पनि रुबिन सारङ्गी रेट्दै गीत गाउँदै हिड्थे । अहिले पनि सारङ्गीसँगै गीत सुनाउँछन् ।

जनआन्दोलनमा गाएका धेरै गीत त उनलाई याद छैन । केही गीत भने उनले अझै पनि याद गरेका छन् । त्यो मध्येको यो गीत हामीलाई सुनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्