
काठमाडौं १० वैशाख– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले चुनावमा पार्टी पराजयको मुख्य कारण नेतृत्वको कमजोरी भएको आरोप लगाएका छन् । उनीहरुले उम्मेदवारको टिकट वितरणमा आर्थिक चलखेल भएको समेत आरोप लगाए । केही सदस्यहरुले भने अन्तरघातका कारण चुनावमा कांग्रेस उम्मेदवारले पराजय व्यहोरेको बताए ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रम, चुनावमा पार्टी परायजको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न बसेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले सभापति शेरबहादुर देउवाको आलोचना गरेका हुन् ।
सोमवारको बैठकमा अम्बिका बस्नेत, रत्न शेरचन, ध्यान गोविन्द रञ्जित, मानवबहादुर विश्वकर्मा, किरण यादव, अजय चौसरीया, सुजाता परियार, चन्द्र भण्डारी, कमला पन्त र चित्रलेखा यादव बोलेका थिए ।
नेता भण्डारीले चुनावमा पार्टी पराजयको मुख्य कारण नेतृत्वको कमजोरी रहेको बताएका थिए । ‘नेतृत्वको कमजोरीका कारण पार्टीले चुनावमा पराजय व्यहोरेको हो’ उनले भने, ‘कांग्रेसले गरेका राम्रा काम पनि बेच्न सकिएन ।’
केन्द्रीय सदस्य ध्यान गोविन्द रञ्जितले पार्टी भित्रकै अन्तरघातीका कारण कांग्रेसले चुनावमा हारेको बताए । ‘कांगेस हार्नुमा पार्टी भित्रका अन्तरघातीको मुख्य भूमिका छ’ कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको समेत प्रसंग जोड्दै रञ्जितले भने, ‘युवा नेता भन्नेहरुले कहाँ कहाँ कसलाई जिताए ?’
उनले बरिष्ठ नेता पौडेलप्रति पनि कटाक्ष गरे । ‘रामचन्द्रजीलाई पदको कस्तो लोभ लागेको हो ? सभामुख भइसकेको मान्छे मन्त्री बन्नु भयो, अब राज्य मन्त्री बन्ने हो कि भनेर जनताले प्रश्न गर्छन्’ देउवा समूहका रञ्जितले पौडेलप्रति व्यङ्य गरे ।
उनले पार्टीको सभापति हुने सम्भावना रहेको भन्दै महामन्त्री शशांक कोइरालालाई देउवाको बिषयमा धेरै नबोल्न सुझाव दिए । ‘सभापतिले पार्टीमा एकता कायम गर्न सक्नु भएन भनेर महामन्त्रीले भाषण गर्दै हिडनु भएको छ । सभापति बन्ने मान्छेले यसो भनेको सुहाउँदैन’ रञ्जितले भने ।
केन्द्रीय सदस्यहरुले भनाइ राख्ने क्रम सकिएपछि मंगलवार नै बैठक सम्पन्न गर्ने तयारी छ । त्यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको सभापति देउवाले जवाफ दिने छन् ।