
धनगढी, ११ बैशाख– ‘जुलुस क्याम्पस चोकबाट चौराहातिर बढ्दै थियो । जिल्ला प्रहरी कार्यालय नजिककैको पूलमा प्रहरीले काँडेतार तेस्र्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुग्दा प्रहरी र आन्दोलनकारीबीच झडप भयो । गोली चल्यो, बारुदको छर्राले रौं जल्यो मेरो । भागाभाग भयो । १०–१५ जनाको प्रहरीको समूहले घेरा हालेर कुट्नसम्म कुटे । नजिकैको बाँसको झाडीमा हाम फाले । बेहोश भएछु,’ ऐतिहासिक १९ दिने जनआन्दोलनलाई यसरी सम्झन्छन्, लक्ष्मीराम आचार्य ।
कैलालीको गौरीगंगा नगरपालिका–३ (साविक चौमाला–९) कुचैनीका स्थानीय आचार्य राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हुन् । २०६२÷०६३ सालको जनआन्दोलनताका उनी संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समिति कैलालीका संयोजक थिए । चैत २८ गते विशाल जुलुसको नेतृत्व गरिरहँदा प्रहरीको कुटाईबाट उनी बेहोश भए ।
‘७ दिनपछि होस खुल्दा आफूलाई भारतको लखनऊस्थित स्वामी विवेकानन्द हस्पिटलमा पाए,’ लामो स्वास तान्दै उनले अगाडि थपे, ‘मरेर बाँचेछु, राजतन्त्रविरुद्ध लोकतन्त्र र गणतन्त्रको लागि जनताले निकै संघर्ष र त्याग गरे तर वास्तवमा लोकतन्त्रको आभास पटक्कै भएको छैन ।’
धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका स्थानीय एवम् आन्दोलनका घाइते प्रयागराज जोशीका लागि पनि जनआन्दोलनको समय कम पीडादायी थिएन । चैत २८ गते धनगढीमा प्रहरीले आन्दोलनकारीमाथि लाठी चार्ज गर्दा उनी शक्त घाइते भए । लाठी चार्जले नाकमा चोट लाग्दा सँुघ्ने शक्ति समेत गुमाए ।
अगाडि खानको लागि राखिएको मोमो देखाउँदै उनले भने, ‘यसको स्वाद बाहेक यसको गन्ध कस्तो छ ? मलाई केही थाहा छैन ।’ प्रहरीको चाठी प्रहारले कम्मरमा समेत गम्भीर चोट खाएका उनी बढी हिँडडुल र भारी बोक्न सक्दैनन् ।
२०६२ साल चैत २४ गतेदेखि २०६३ साल बैशाख ११ गतेसम्म १९ दिने जनआन्दोलन चलेको थियो । माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धको जगमा जनआन्दोलन शुरु भएको थियो ।
जनआन्दोलनको सफलतापछि २०६३ साल माघ १ गते नेपालको अन्तरिम संविधान हुँदै हालसम्मको नयाँ संघात्मक शासन अवस्थामा मुलुक पुगेको छ । तर जनआन्दोलनमा सहभागी घाइते, आपाङ्गहरु जनताले अपेक्षा गरेको लोकतन्त्रको महसुस गर्न नपाएको दुखेसो पोख्छन् ।
आन्दोलनकै बलमा लोकतन्त्र आए पनि राज्यले आन्दोलनका शहीद, बेपत्ता र घाइतेहरुलाई पूर्ण रुपमा वेवास्ता गरेको उनीहरुको दुखेसो छ । ‘हामीलाई घाइते भएको परिचयपत्र दिइयो । सेवा सुविधाको केही मापदण्ड पनि नबनाएको होइन । तर ती मापदण्ड अनुसार केही पनि सुविधा पाएका छैनौ, बसमा परिचय पत्र देखाउँदा खिल्ली उडाउँछन्,’ जनआन्दोलनका घाइते जोशी भन्छन्, ‘अब त जनआन्दोलनको घाइते हुँ भन्दा पनि आफैंलाई लाज लागेर आउँछ ।’
हाल पत्रकारिता पेशामा आवद्ध रहेका जोशीले लोकतन्त्र दिवसको अवसरमा दिँदै आएको बिदा सरकारले हालै कटौती गरेकोप्रति आपत्ति जनाए । ‘चाडपर्वका अनावश्यक बिदाहरु कटौती गर्नु ठिकै हो, तर जनताको आन्दोलनले स्थापित गरेको दिवसलाई नै कटौती गर्नु जनताले गरेको संघर्षलाई अवमूल्यन गर्नु जस्तै हो,’ उनले भने । साथै उनले लोकतन्त्र केवल पहुँच हुनेहरुको लागि मात्रै आएको गुनासो व्यक्त गरे ।
नक्कली घाइतेले बह्मलुट मच्चाए
जनमोर्चाका नेता समेत रहेका घाइते आचार्यले आफुले राज्यको भौतिक सुविधा नचाहेको भए पनि जनताले अपेक्षा गरेको दिगो शान्ति र विकासको चाहना पूरा नभएको बताए । जनआन्दोलनको क्रममा कैलाली जिल्लाको हमा चार–पाँच जना मात्रै वास्तविक घाइते भए पनि हाल सयौंको संख्यामा नक्कली घाइतेहरुले सेवा लिएको देख्दा चित्त दुखाउँछन आचार्य ।
‘आन्दोलनमा चार–पाँच जना मात्रै घाइते थियौं, तर जिल्लामा हाल एक सय ४७ जना नक्कली घाइते देखिएका छन् । बह्मलुट मच्चाएका छन् । राजनीतिक पहुँचको आधारमा सेवा सुविधा लिइरहेका छन्,’ आक्रोशित हुँदै आचार्यले भने, ‘राज्यको भौतिक सेवा सुविधा लिनेमा मन्त्री, पूर्वमन्त्रीहरु समेत छन् ।’
राज्यको सेवा सुविधा हालसम्म नलिएको बताउने उनी साविक चौमाला गाविसले आफूलाई पहिलो गाउँ परिषद्बाट जिउँदो शहीद भनेर सम्मानसहित प्रदान गरेको तक्मा भने स्वीकार गरेको उनले बताए । उनी तत्कालीन प्रधानमन्त्री स्वर्गिय गरिजाप्रसाद कोइरालाबाट पनि सम्मानित भएका थिए ।
राजनीतिक दलको सत्ता स्वार्थ
आन्दोलनका घाइतेहरु राज्यको शासनशैलीबाट असन्तुष्ट रहेका बेला तत्कालीन समयमा आन्दोलनको बागडोर सम्मालेका राजनीतिक दलका नेताहरु पनि सन्तुष्ट देखिएका छैनन् । उनीहरु जनआन्दोलनको मर्म र भावनामाथि कुठाराघात भैरहेको टिप्पणी गर्छन् ।
जनआन्दोलनलाई राजतन्त्रको संघारक र महत्वपूर्ण घटना रहेको बताउँदै नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले हालको शासनशैलीले जनताको अपेक्षा एक प्रतिशत पनि पूरा नगरेको बताए । राजनीतिक दल तथा नेताहरु आफ्नो स्वार्थ पूर्तिमा मात्रै लागेको उनको भनाइ छ ।
त्यस्तै नेकपा एमालेको नेता एंव प्रदेश कार्यालय सचिव दिनेश चन्द्र सुवेदीको भनाइ पनि काँग्रेस नेता बमको भन्दा फरक छैन । उनी पनि अझै जनताले अनुभूत गर्ने गरी परिवर्तन नआएको स्वीकार्छन् । तर वर्तमान सरकारले भखरै पूर्णता पाएकोले केही आशा पलाएको उनले उल्लेख गरे ।