२४ असार २०८३, बुधबार

भूकम्पले भत्किएको घरमा २२ घण्टा पुरिएका सोनिस के गर्छन् आजकाल ?

बैशाख १२, २०७५
भूकम्पले भत्किएको घरमा २२ घण्टा पुरिएका सोनिस के गर्छन् आजकाल ?

काठमाडौं, १२ वैशाख— भक्तपुर कमलविनायकका २६ महिने सोनिस अवाल एक शिशु स्याहार केन्द्रमा भेटिए । भक्तपुर महानगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा खेलिरहेको अवस्थामा हामीले उनलाई भेट्यौं ।

विगत एक महिनादेखि उनी उक्त शिशु स्याहार केन्द्रमा दैनिक ६ घण्टा समय बिताउँछन् । खेल्छन् । चकचक गर्छन् । साथीहरूसँग जिस्किन्छन् । शिशु स्याहार केन्द्रका गुरुआमाहरूका अनुसार उनी त्यहाँका सबैभन्दा ‘स्मार्ट’ बच्चा हुन् ।


यी तिनै सोनिस हुन्, जो दुई वर्षअघि आजकै दिन (२०७२ साल वैशाख १२) को विनाशकारी भूकम्पमा लामो समयसम्म भग्नावशेषमा पुरिएर बाँच्न सफल भए । भूकम्प जाँदा दुई महिना मात्रै उमेर पूरा गरेका उनी २२ घण्टासम्म भग्नावशेषमा पुरिएका थिए । 

‘अहिले त चकचके भइसक्यो, २२ घण्टा पुरिएपछि निस्किँदा पनि मुसुक्क हाँसेको थियो,’ सोनिसकी आमा रश्मीलाले भनिन्, ‘भग्नावशेषबाट निकाल्दा सबैले ताली बजाएका थिए । बाईस घण्टापछि उसलाई सेनाले सकुशल निकालेको थियो ।’


रश्मीला घरमा चाहिएका सामग्री किन्न पसलतर्फ लागेकी थिइन् । उनी पसल नपुग्दै भुइँचालो आयो । उनका आँखाले बलिया जस्ता देखिने घरहरू ढलेको देखे । आफ्नो पुरानो घर पनि पक्कै भत्कियो भन्ने उनलाई लाग्यो ।

‘दौडेर घर आउँदा घर भत्किइसकेको थियो, बाबु (सोनिस) सुतिरहेको थियो । बाबुलाई हेर है भनेर छोरीलाई अह्राएको थिएँ,’ उनले भनिन्, ‘खोज्दै जाँदा छोरी त दुई घण्टामै सकुशल भेटिई । तर छोरा चाहिँ भेटिएन ।’

भग्नावशेष भित्रैबाट बच्चा रोइरहेको आवाज आएपछि नेपाली सेनाले उक्त ठाउँमा होसियारीपूर्वक खोजी शुरु गरेको थियो । त्यहीँ क्रममा सोनिस भेटिए । 

अँध्यारोमा पुरिएका सोनिस उज्यालोमा निकाल्नेबित्तिकै मुस्कुराए । तत्कालै सेनाले अस्पताल लग्यो । उनलाई केही भएको रहेनछ, सफा गरेर घरमा ल्याइदियो ।


घर भत्किएपछि वासस्थान अभाव भएपनि रश्मीला दम्पतीलाई दुवै छोराछोरी भूकम्पको भग्नावशेषबाट जीवितै निस्किँदा निकै खुशी लागेको थियो । उनीहरूको खुशीसँग धेरैको ध्यान त्यतै खिचियो । भग्नावशेषबाट २२ घण्टापछि जीवितै फेला परेका सोनिस एकाएक ‘स्टार’ बनेका थिए । 

नेपाली सेनाले पनि दुईमहिने बच्चालाई सकुशल उद्धार गर्न सफल भएकोमा त्यो गौरवकै विषय भएको बताएको थियो । 

भग्नावशेषबाट निस्किँदा मुस्कुराएका सोनिस आइतवार लोकान्तर टोली पुग्दा मुस्कुराइरहेकै थिए । एक महिनाअघि मात्रै रश्मीलाले छोरालाई शिशु स्यहार केन्द्रमा लगाएकी रहिछन् ।

‘घरमा साह्रै चकचक गर्न थाल्यो, साथी भएन भने रुन पनि थाल्यो,’ उनले भनिन्, ‘त्यही भएर शिशु स्याहारमा राखेकी छु ।’ सोनिस दिउँसो केही घण्टा त्यहाँ खेलेर घर आउँछन् । रश्मीलाले सामान्य सिलाइ, कटाइको काम गर्छिन् । श्रीमान् टिपर चलाउँछन् ।


रश्मीलाका अनुसार सोनिस सामान्य बच्चाजस्तै छन् । बरू साथीहरूभन्दा बाठा पो छन् । ‘भूकम्पले घरबार त उत्रियो तर छोरालाई सेनाले पढाइदिने भएको छ, छोरीलाई पनि दाताहरूले पढाउनुभएको छ,’ रश्मीलाले भनिन्, ‘बाबुलाई पाँचसम्म बाहिरकै बोर्डिङमा पढाउँछु । त्यो पैसा सेनाले नै तिरिदिन्छ । पछि वीरेन्द्र सैनिक स्कूलमा पढाउने कुरा छ ।’

सेनाले आफ्नौ गौरवस्वरूप सोनिसलाई स्नातक तहसम्म निःशुल्क अध्यापन गराउने वचन दिएको छ ।
सामान्यतया सेनाको स्कूलमा पढ्नेहरू सेनाकै जागिरे बन्ने गरेको उदाहारण छन् । 

त्यसो भए सोनिस पनि ठूलो भएपछि सेनामै पस्छ होला है ? लोकान्तरको जिज्ञासामा रश्मीलाले भनिन्, ‘पारा हेर्दा त त्यस्तै लाग्छ । चकचके छ । जम्प गर्छ । साइकल चलाउँछ । हाइजम्प पनि गर्छ ।’

छोरी सोनियालाई चाहिँ मनकामना केबलकारका रोशनबावु श्रेष्ठले दाताहरू खोजेर निःशुल्क पढाउने व्यवस्था मिलाएका छन् । बोर्डिङमै पढिरहेकी सोनियाको कुनै पनि खर्च घरबाट बेहोर्नुपर्दैन ।


छोराछोरीले पढ्न पाउने भएपनि घरवास चाहिँ उत्रिएको छ । कमलविनायकस्थलमा सानो ठाउँमा रहेको उनीहरूको पुरानो घर भत्किएको छ । अहिले त उक्त घर भएको ठाउँको जग्गा बाटोले खान लागेको रश्मीलाले बताइन् ।
‘चार भाइको घर थियो त्यो, तर भत्कियो,’ उनले भनिन्, ‘अब घर बनाउन त सकिँदैन होला, तर भूकम्पबाट जोगियौं, खुशी छौं ।’


भूकम्पमा पुरिएर रश्मीलाका जेठाजुका दुई छोरीको निधन भएपनि उनको तर्फ चाहिँ केही भएन ।

अहिले उनीहरू भक्तपुरमै कोठा भाडामा लिएर बसिरहेका छन् । *अर्काइभबाट

salt training

कमेन्ट गर्नुहोस्