२६ असार २०८३, शुक्रबार

सिन्डिकेट तोडेरै छाड्छौं, आवश्यक परे ‘खलासी’ बन्न तयार छु– मन्त्री यादव

बैशाख १२, २०७५
सिन्डिकेट तोडेरै छाड्छौं, आवश्यक परे ‘खलासी’ बन्न तयार छु– मन्त्री यादव

सुर्खेत, १२ वैशाख–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले यातायात व्यवसायीले दिएको आन्दोलनको धम्कीले सरकार नडराउने बताएका छन् । भूकम्प मापन केन्द्रको भवन उद्घाटन गर्न बुधबार सुर्खेत आइपुगेको मन्त्री यावले गाडी चलाउने ड्राइभरको कमी नहुने बताए । ‘हामी आफैँ पनि गाडी चलाउँछौं,’ उनले भने, ‘सिन्डिकेट तोड्न केही कसर बाँकी राख्दैनौं ।’

सरकारसँग पर्याप्त चालक रहेको भन्दै उनले आवश्यक परे आफू खलासीसमेत बन्न तयार रहेको बताए । ‘हामी जनताले दिएको म्याण्डेट पूरा गर्न सरकारमा गएका हौ,’ उनले भने, ‘जनताका पक्षमा काम गर्न ड्राइभर त के खलासी पनि बन्न सक्छौं ।’

मन्त्री यादवले सरकारको पहिलो उद्देश्य जनतालाई सहज सेवा दिने रहेको बताउँदै जनतालाई सेवा दिने सवालमा कसैबाट गल्ति भए हेरेर नबस्ने चेतावनी दिए ।

बहुदलपछि नेपालमा आर्थिक क्षेत्रमा खुला बजार नीति, उदारीकण र निजीकरणको गलत स्कुलिङले उद्योगधन्दा धरासयी बनाएको टिप्पणी उनले गरे । ‘गलत स्कूलिङका कारण उदारीकरण र खुला बजार नीतिले नेपालमा अरु देशको व्यापारिक थलो बनाएको र निजीकरणले राष्ट्रिय उद्योगधन्दा बेचेर खाने परीपाटी बस्यो,’ उनले भने, ‘म सानो हुँदा भारतमा टाँगा गाडीमा खाद्यान्न बेच्ने गरेका थियौं, तर अहिले सबैकुरा उतैबाट किन्नुपर्ने परिस्थिति आएको छ ।’

देशलाई समृद्ध बनाउन सबैले श्रम गर्नुपर्नेमा उनको जोड छ । ‘हामी जसले श्रम गरेका छौँ, त्यसलाई राम्रो नजरले नहेर्ने संस्कारमा हुर्किएका छौं,’ उनले भने, ‘अब त्यो सोच र संस्कारलाई बदल्न जरुरी छ ।’

मन्त्रालयले साना र ठूला उद्योग सञ्चालन गर्न गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ छ । ‘आयात रोक्ने र आन्तरिक उत्पादनलाई बढावा दिन साना, मझौला र ठूला उद्योग स्थापना गरेर जनताको आयस्तर उकास्नेखालका योजना ल्याउन लागिरहेका छौं,’ उनले भने, ‘कम्तिमा एक जिल्लालाई नमूना जिल्लाको रूपमा विकास गर्ने र त्यही मोडलमा देशलाई उद्योगमैत्री बनाएर लैजाने मन्त्रालयको योजना छ ।’ 
 
मन्त्री यादवले देशमा रहेका रुग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याइने बताए । ‘देशमा रहेका धेरै उद्योगहरू खण्डहरमा परिणत भइसकेका छन्,’ उनले भने, ‘अब विस्तारै ती उद्योगहरूलाई सञ्चालन गर्ने गरी योजना बनाइरहेका छौं ।’ 

मन्त्री यादवले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन र चौकुने सिमेन्ट उद्योगलाई सञ्चालन गर्ने बारेमा काम अघि बढाउने बताए । कर्णालीमा उद्योग धन्दाको बढावाका लागि मन्त्रालयले विभिन्न कार्यक्रमहरु तय गर्ने उनले बताए ।
 
उनले पार्टी एकतामा शंका नगर्न आग्रह गरे । ‘सुदृढ एकताका लागि सम्मानजनक रूपमा पार्टी एकता गर्न छलफल जारी छ,’ मन्त्री यादवले भने, ‘जनमतको सम्मान गर्न पनि पार्टी एकता हुनु जरुरी छ ।’  
 

salt training

कमेन्ट गर्नुहोस्