
विराटनगर, १२ वैशाख - प्रदेश नं १ मा आज प्रदेशसभाको बैठकले ‘नगरसभा र गाउँसभा सञ्चालन गर्न कार्यविधि विधेयक–२०७५’ सर्वसम्मत पारित गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ बैठकमा पेश गर्नुभएपछि सो विधेयक सर्वसम्मतरुपमा पारित भएको हो ।
उक्त, विधेयक वैशाख ९ गते टेबुल गरिएको थियो । सो विधेयकको सैद्धान्तिक पक्षका साथै व्याकरण, वाक्यांशलगायत देखिएका त्रुटिलाई सच्याउनुपर्ने सुझाव दिँदै एक दर्जनभन्दा बढी प्रदेशसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
लक्ष्मण तिवारीसहित १२ जना प्रदेशसभा सदस्यले संयुक्तरुपमा दर्ता गर्नुभएको संशोधन प्रस्तावमा २३ वटा बुँदामा देखिएका सैद्धान्तिक पक्ष र व्यावहारिक पक्षमा संशोधन हुनुपर्ने, इन्दिरा राईले विधेयकको दफा २, ३, ४ र ६ का साथै प्रस्तावनालगायतमा वाक्यांश र शुद्धाशुद्धि हुनुपर्ने र शेर्माध्वज राईले सैद्धान्तिक पक्षमा देखिएका त्रुटिको सम्बन्धमा संशोधनका लागि प्रस्ताव दर्ता गराउनुभएको थियो ।
सो सम्बन्धमा आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले ती दर्ता गरिएका प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएपछि उहाँहरुले आ–आफ्ना सुझावका साथ त्रुटिको सम्बन्धमा ध्यानाकर्षण गराउनुहुँदै संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । ती संशोधन प्रस्ताव फिर्ता भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रस्तुत गर्नुभएको सो विधेयक पारित भएको हो । प्रदेशसभाको अर्को बैठक भोलि १ बजे बस्ने छ ।