
काठमाडौं, १३ वैशाख- नेपालीको वार्षिक प्रति व्यक्ति आय १ हजार अमेरिकी डलर नाघेको छ । प्रत्ति व्यक्ति आय पहिलो पटक चार अंकमा पुगेको हो ।
राजधानीमा बुधबार केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङक सार्वजनिक गर्दै गत वर्षको तुलनामा नेपालीको आय १ सय ३८ ले बढेर १ हजार ४ अमेरिकी डलर पुगेको जनाएको हाे। बुधबारको विनिमय दरअनुसार सो रकम १ लाख ६ हजार ४ सय २४ रुपैयाँ हुन आउछ । गत वर्ष नेपालीको प्रति व्यक्ति आय ८ सय ६६ डलर थियो ।
कांग्रेस बैठक– नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान तय गर्ने भएको छ । गत चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा तत्काल महासमिति बैठक बोलाउनुपर्ने दबाब दिइएपछि जारी बैठकले नै महासमिति बैठकको मिति र स्थान तय गर्ने तयारी गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टी पराजित हुनुको कारण र आगामी कार्य्दिशाबारे आ–आफ्ना धारणा राखे । बैठकमा केन्द्रीय सदस्य विमलेन्द्र निधि, महेश आचार्य, शंकर भण्डारी र विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका हुन् ।
पाँच सयको नयाँ नोट प्रचलनमा– नेपाल राष्ट्र बैंकले बुधवारबाट नयाँ डिजाइन सहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । यसमा पुरानोभन्दा केही विशेष परिवर्तनहरु गरिएका छन् । आकार भने साविककै कायम गरिएको छ ।
यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ थिए । अहिले दुईवटा पाटे बाघको सट्टामा एउटा मात्रै राखिएको छ । नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमाल र दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ ।
नोटमा गभर्नर डा. चिरन्जीवी नेपालको दस्तखत राखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ ।
विधेयक सर्वसम्मतले पारित– प्रदेश नं ५ को सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा समक्ष निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतिले पारित भएको हो ।
त्यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ को सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । प्रदेशसभा बैठक विद्युत् आपूर्तिको समस्याले प्रभावित हुने गरेको छ ।
दुईवटा विधेयक प्रदेशसभामा पठाउने निर्णय– प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा विधेयक स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का बैठकबारे जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले स्थानीय तहको कानून तर्जुमा विधेयक २०७५ र प्रदेश आकस्मिक कोष सञ्चालन विधेयक २०७५ स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णय गरेको जानकारी दिए ।
प्रदेशको सञ्चित कोष सञ्चालन कार्यविधि बैठकले स्वीकृत गरेको छ । त्यस्तै बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाका सर्तसम्बन्धी विधेयक, प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन विधेयक र प्रदेशसभाका सचिव र सचिवालयको व्यवस्था गर्न बनेको विधेयक बनाउनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित– कर्णाली प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल भएको थियो ।
प्रदेशसभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले प्रदेश सरकारले ल्याएको तीन महिने नीति तथा कार्यक्रम २०७५÷७६ को जग भएको बताउँदै सुर्खेत–बर्दिया सुरुङमार्ग, रैथाने बाली र पर्यटन विकासलाई पहिलो प्राथमिकता दिइएको बताए ।
एक महिनामा तीन दर्जन बलात्कृत– महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरूले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ ।
ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
चैत महिनामा मात्रै अभिलेखीकरण भएका महिला हिंसाका जम्मा १३१ वटा घटनामध्ये ३६ जना महिला (सात सामूहिक बलात्कार र एक बलात्कारपछि हत्या) माथि बलात्कार भएको तथ्याँक रहेको संस्थाका कार्यक्रम निर्देशक अभिराम रायले जानकारी दिए ।
अभिलेखीकरण भएका घटनामा सबैभन्दा बढी ५३ प्रतिशत १६ वर्षमुनिका बालिका बलात्कारको शिकार भएको पाइएको छ । त्यस्तै २२ प्रतिशत १७ देखि ३० वर्ष उमेर समूहका र आठ प्रतिशत उमेर समूह थाहा नभएका महिला तथा बालिका बलात्कारमा परेका छन् । बलात्कारबाट प्रभावितमध्ये सबैभन्दा बढी ५० प्रतिशत महिला तथा बालिका छिमेकीबाट बलात्कृत भएको पाइएको छ ।
चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ– उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई रु चार करोड रकम हिनामिना गरेको आरोपमा बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
एन्फाको चुनाव– अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमितिको चुनाव वैशाख २२ गते हुने निश्चित भएको छ । पाटन उच्च अदालतले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि एन्फाको केन्द्रीय कार्यसमितिको चुनाव वैशाख २२ गते हुने निश्चित भएको हो ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश बिष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले गएको चैत ७ गते जारी गरेको अन्तरिम आदेश खारेज गर्ने फैसला गरेको हो ।