११ असार २०८३, बिहीबार

सुनकाण्डमा थप दुई प्रहरी पक्रन सर्कुलर, कहिले के भयो ?

बैशाख १३, २०७५
सुनकाण्डमा थप दुई प्रहरी पक्रन सर्कुलर, कहिले के भयो ?

काठमाडौँ, १३ बैशाख- ३३ केजी सुन तस्करीमा अनुसन्धान गरिरहेको छानबिन  समितिको निर्देशनमा दुई बहालवाला प्रहरी अधिकारीलाई पक्रन प्रहरी प्रधान कार्यालयले सबै प्रदेश कार्यालय र ७७ वटै जिल्लामा बुधबार दिउँसो आन्तरिक सर्कुलर गरेको छ । एसएसपी श्याम खत्री र ११ गते गृह मन्त्रालयमा बयान चल्दाचल्दै भागेका डीएसपी सञ्जय राउतलाई पक्राउ गर्न यस्तो सर्कुलर जारी गरिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

उच्च स्रोतका अनुसार एसएसपी खत्री केही दिनयता प्रहरी प्रधान कार्यालयसँग सम्पर्कविहीन छन् । खत्रीलाई बयानका निम्ति उपस्थित गराइदिन समितिले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएलगत्तै उनी सम्पर्कबाहिर रहेकाले सर्कुलर जारी गरिएको हो । खत्री तिनै एसएसपी हुन्, जो २०७३ पुस २१ गते विमानस्थलबाट बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीमा पनि मुछिएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल भन्सारबाट बाहिरिएको सुन विमानस्थल गोल्डेन गेट हुँदै बाहिरिएलगत्तै समातेको थियो । उक्त सुन पास गराउन एसएसपी खत्रीको समेत संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरिएको थियो । तर खत्रीले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए । सुन तस्करीका मुख्य नाइके गोरेसँग एसएसपी खत्रीको नियमित सम्पर्क देखिएको भन्दै अनुसन्धान समितिले उनको खोजी गरेको हो ।

कहिले के भयो ?
माघ ९ गते : दुबईबाट भित्रिएको ३३ केजी सुन त्रिभुवन विमानस्थलबाट सेटिङमा बाहिरियो
माघ २२ गते : थाई एअरवेजका वरिष्ठ प्राविधिक सानु वनको विमानस्थलभित्र गुडदै गरेको ट्याक्टरमा ठोक्किएर मृत्यु
१४ फागुन : मोरङ, उर्लाबारीका सनम शाक्य बेपत्ता
१८ फागुन : महानगरिय अपराध महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेल मोरङ प्रस्थान । टोलीद्वारा शाक्यको शव गाडीभित्र फेला ।
फागुन तेस्रो साता : शाक्यको हत्याबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय विशेष अनुसन्धान समिति गठन ।
२२ चैत : समितिको निर्देशनमा महाशाखाका प्रमुख एसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी मुक्त गर्दै हेडक्वार्टर तानियो
३० चैत : विमानस्थलमा लोडरका रुपमा कार्यरत प्रेमलाल चौधरीद्वारा महानगरीय प्रहरी वृत्त, अनामनगरको थुनुवा कक्षमा पासो लगाई आत्महत्या
चैत अन्तिम साता : अनुसन्धान समितिको निर्देशनमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्डका सञ्चालक पवन अग्रवाल, थाई एअरका कर्मचारी, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्रीलगायतका २५ जना अनुसन्धानका लागि पक्राउ
११ वैशाख : मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनाल बयानपछि नियन्त्रणमा
११ वैशाख : इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको बयान, लगत्तै बेपत्ता
१० वैशाख : महानगरीय अपराध महाशाखामा कार्यरत गजेन्द्र रावल बयानपछि नियन्त्रणमा
९ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेका पूर्व डिआईजी गोविन्द निरौला बयानपछि नियन्त्रणमा
 

salt training

कमेन्ट गर्नुहोस्