चितवन, १३ वैशाख- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । बिहीबार भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताए ।
खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरे । उनले भने, “प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरूले गर्ने काम संगठनले गरेको काम हुँदैन । संगठनमा केही त्यस्ता किराहरू हुन्छन्, तिनीहरूलाई हटाउनु पर्छ ।”
उनीहरूका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उनले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने बताए । प्रहरीको दरबन्दी कम रहेको भन्दै उहाँले मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए ।
अर्काे एक प्रश्नमा आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम शुरु गरिसकेको बताए । संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उनले ऐन आएपछि प्रदेश कार्यालयहरू स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताए ।