
काठमाडौं, १३ वैशाख– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुबीच लामो भाषण गर्ने प्रतिष्पर्धा चलेको छ । केही दिनदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरुबीच को भन्दा को बढी समय बोल्ने भन्ने प्रतिष्पर्धा चलेको हो ।
बिहीवारको बैठकमा पूर्वउपसभापति गोपालमान श्रेष्ठले झण्डै साढे २ घण्टा भाषण गरे । गोपालमानको भाषण छोट्याउन ‘लन्च ब्रेक’ गरिएको थियो । बोल्नेक्रममा गोपालमानले अधिकाशं समय रामचन्द्र पौडेलको आलोचनामा खर्च गरे ।
उनले स्व. गिरिजाप्रसाद कोइरालाको समेत आलोचना गरेका एक केन्द्रीय सदस्यले जानकारी दिए । गोपालमानले लम्बेतान भाषण गरेपछि बैठकको अध्यक्षता गरेका पार्टी सभापति शेरबहादुर देउवाले छोट्याउन पटक–पटक निर्देशन दिएका थिए । पट्यारलाग्दो भाषण भन्दै केही केन्द्रीय सदस्यहरु बैठकहलबाट बाहिरिएका थिए ।
पौने १ बजे लन्च समय निर्धारित गरिएको भए पनि गोपालमानको भाषणका कारण साढे १ मा मात्र ब्रेक भएको थियो । ‘अब लन्चपछि बोल्नुहोला भनेर सभापतिज्युले छोट्याउन भन्नु भयो,’ ती सदस्यले लोकान्तरसँग भने ।
श्रेष्ठले आफ्नो भाषणका क्रममा पार्टीमा अन्तरघात बढेका कारण चुनावमा पराजय व्यहोर्नु परेको उल्लेख गरेका थिए । ‘गोपालमानले उपसभापति पाउनका लागि पृष्ठभूमि जोडेर लम्बेतान भाषण गरे,’ पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने ।
दिवा खानाको समयपछि पनि गोपालमान नै बोल्न खोजिरहेका थिए । तर सभापति देउवाले विजयकुमार गच्छदारलाई बोल्ने पालो दिए । एकघण्टा भन्दा लामो भाषण गरेका गच्छदारले पार्टी छाडेर जानु पर्नाको कारण खोतलेका थिए । भविष्यमा कांग्रेस पहिलो पार्टी बन्ने सम्भावना बाँकी रहेको भन्दै गच्छदारले सक्षम व्यक्तिलाई पदाधिकारी मनोनयन गर्न सभापति देउवालाई सुभाव दिए ।
चुनावमा पार्टी पराजयको समीक्षा गर्न बसेको केन्द्रीय समिति बैठक बिहीवार बेलुकासम्म जारी छ । बैठक बिहीवार नै समापन गर्ने कांग्रेस नेताको भनाइ छ ।