
काठमाडौँ, १३ वैशाख– राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा अहिलेसम्म एक लाख ४२ हजार घर निर्माण गरिसकेको छ ।
प्राधिकरण र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाद्वारा संयुक्त रुपमा आज आयोजित भूकम्पसम्बन्धी भए गरेका विषयमा आयोजित छलफल कार्यक्रममा करीब चार लाख ५० हजार घर निर्माणका क्रममा रहेको जनाइएको छ ।
जापान सरकारले जाइकामार्फत सिन्धुपाल्चोक र गोरखामा गरी करीब ५५ हजार घर निर्माण गरिरहेको तथा नुवाकोट, रसुवा, धादिङ, मकवानपुर र ललितपुरमा २३७ विद्यालय निर्माण पूरा गर्न लागेको छ ।
उक्त कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आफ्नो मुलुकमा भूकम्प गइरहने हुँदा त्यसको अनुभवका आधारमा गोरखा भूकम्पपछि नेपाललाई प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइँदै आएको बताए ।
प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपछि प्रभावित क्षेत्रमा अहिलेसम्म रु १२० अर्ब बराबरको खर्च गरिएको जानकारी दिए । प्राधिकरणका सहसचिव नेत्रप्रसाद सुवेदी तथा विज्ञ यमलाल भुसाल, तपेन्द्रबहादुर खड्का र केदार न्यौपानेले मुलुकको चट्टान र भूअवस्था तथा माटाको प्रकार अध्ययन गरी भवन संरचना तयार गर्नुपर्नेमा जोड दिए ।
प्राधिकरणका उपसचिव डा भीष्मकुमार भुसालले भूकम्प प्रभावितलाई सहयोग तथा उनीहरुको आवश्यक व्यवस्थापनका साथै सम्पदालगायत अन्य संरचना निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, जाइकाका प्रतिनिधि इट्सु आदाची, प्रा किमो ताकिया र जुन साकुमाले भूकम्पपछि विभिन्न किसिमले सामाजिक विचलन आउने बताउँदै पहिलेदेखि नै भौगर्भिक अवस्थाको परीक्षण र सोहीअनुसारको संरचना निर्माण गर्न सुझाए ।