
काठमाडौं, १४ वैशाख– चुनावी समीक्षा गर्न चैत ९ गतेबाट शुरु भएको नेपाली कांग्रेको केन्द्रीय कार्यसमितिको बैठक अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपमा जारी बैठकमा सबैजसो नेताहरूले आफ्नो धारणा राखि सकेकाले अब पार्टी सभापति शेरबहादुर देउवाले बोलेपछि शुक्रबार बैठक टुंग्याउने तयारी भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बैठकमा धारणा राख्ने क्रममा नेताहरूबीच पक्ष–विपक्षमा आरोप–प्रत्यारोप भएको छ । बैठकमा नेताहरूले लिखित प्रस्ताव पनि पेश गरे । नेताहरू प्रकाशमान सिंह, नरहरि आचार्य, डा. शेखर कोइराला, डा. डिला संग्रौला, गगन थापा, नवीन्द्रराज जोशीलगायतले छुट्टाछुट्टै लिखित प्रस्ताव पेश गरेका हुन् ।
बैठकमा निर्वाचनमा पराजय भोग्नुमा नेतृत्व खास गरी सभापति देउवाको कमजोरी रहेको आरोप लागे पनि देउवापक्षीय नेताहरूले त्यसको कडा प्रतिवाद गरेका छन् । बैठकमा बोने देउवापक्षीय नेताहरुले चुनावी परिणामको जस–अपजस सबैले लिनु पर्ने बताएका छन् ।
बैठकमा महासमितिको बैठक बोलाउनुपर्ने र त्यसलगत्तै १४औं महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्नुपर्ने माग गरिए पनि तत्कालका लागि त्यो सम्भावना कम देखिएको छ ।