
काठमाडौं १४ वैशाख – पार्टी एकताको बिषयलाई लिएर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार निर्णायक छलफल हुने भएको छ ।
दुई कम्युनिष्ट पार्टीको एकता प्रक्रियामा गतिरोध उत्पन्न भइरहेको समयमा ओली र प्रचण्डबीच छलफल हुन लागेको हो । दुई अध्यक्षबीच शुक्रवार छलफलको तयारी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले लोकान्तरलाई जानकारी दिए । वार्ताको समय र स्थान भने तय भएको छैन ।
वैशाख ९ मा दुई पार्टीबीच एकता गर्ने भनिएपनि केही प्राविधिक विषयमा सहमति जुट्न नसकेपछि एकता प्रकृया परसेको नेताहरुले दाबी गरेका थिए ।
९ वैशाखको एकता टरेपछि दुई पार्टीका नेताहरुले परस्पर विपरितका अभिव्यक्ति दिने र एक अर्काप्रति घोचपेच समेत गर्ने गरेका छन् । कार्यकर्तालाई सकारात्मक सन्देश दिन दुई अध्यक्षले एक्ला एक्लै भेटवार्ताको तयारी गरेका हुन् ।
बिहीवार रौतहटको कार्यक्रममा प्रचण्डले शुक्रवारसम्ममा पार्टी एकताबारे कुनै निर्णयमा पुगिने बताएका थिए । मनमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष अेलीले पनि एकता बारे बोलेका थिए ।
‘सिमेन्ट, बालुवा र पानीको अनुपात नमिलाइ ढलाइ जम्दैन, त्यस्तै हामीपनि पार्टीको संगठनमा अनुपाति मिलाउने काम गरिरहेका छौं’ माओवादीसंग केन्द्रीय सदस्यको अनुपात मिल्न बाँकी रहेको संकेत गर्दै ओलीले भनेका थिए ।
सतहमा चुनाव चिन्ह, माओवादीको सशस्त्र ‘जनयुद्ध’ जस्ता प्राविधिक बिषय देखिएपनि एकताका लागि प्रचण्डले महाधिवेशनबाट अध्यक्षको सुनिश्चितता र संसदको यही कार्यकालको पछिल्लो दुई बर्ष प्रधानमन्त्रीको सुनिश्चितता खोजेको एमाले स्रोत बताउँछ ।
पार्टी एकता गर्ने भन्दै एमाले र माओवादीले गत २०७४ असोज १७ गते वामपन्थी गठबन्धन बनाएर चुनावमा गएका थिए ।