
काठमाडौं, २० वैशाख– वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलको निमित्त प्रमुखमा भविश्वर पाण्डे नियुक्त भएका छन् ।
गृहमन्त्रालयका उपसचिव रहेका पाण्डेलाई मन्त्रिपरिषद्ले श्रम कार्यालय ताहाचलमा निमित्त प्रमुखको रुपमा सरुवा गरेको हो ।
यसअघिका निमित्त कार्यालय प्रमुख केदार देसार रमाना पत्र लिएर स्थानीय विकास मन्त्रालयमा हाजिर हुन गएपछि कार्यालय प्रमुखको पद खाली थियो ।
श्रम कार्यालय ताहाचल सम्हाल्नको लागि आएका निमित्त प्रमुख पाण्डे सल्यान, अछाम, रुकुम र बाजुरामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालीसकेका व्यक्ति हुन् ।
श्रम कार्यालय ताहाचलमा श्रम स्वीकृतिको काम अस्तव्यस्त रहँदै आएको विषयलाई सेवाग्राहीले बारम्बार गुनासो गर्ने गरेका छन् । दलालहरुको बिगबिगी र कर्मचारीको सेटिङका कारण घुस नखुवाई श्रम गर्न पनि मुस्किल हुने अवस्था रहेको सेवाग्राही बताउँछन् ।
यसअघिका निमित्त कार्यालय प्रमुख देसारको कार्यक्षमतामा प्रश्न उठाएर मन्त्रालयले सरुवा हुन दबाव दिएको थियो ।