
काठमाडौं, २१ वैशाख– सरकारले यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने निर्णय गरेपछि यातायात व्यवसायी आन्दोलित भएका छन् । सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीले शुक्रबार गाडी चलाएका छैनन् ।
गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । विभिन्न कामले निस्केकाहरु पैदल हिड्न बाध्य भएका छन् । खासगरी कक्षा ११ र १२ को परीक्षा दिइरहेका विद्यार्थी र बिरामी बढी मारमा परेका छन् ।
परीक्षा केन्द्र टाढा परेका विद्यार्थीले यातायात नचल्दा आफुहरूलाई समस्या भएको गुनासो गरे । केहिले निजी सवारी साधनमा लिफ्ट मागेर काम चलाएका थिए । यातायातका साधन नचल्दा सडक सुनसान छन् भने राजधानीको नयाँ बसर्पाकमा यात्रुको बिचल्ली भएको छ ।

शुक्रबारदेखि यातायात बन्द हुने यसअघि नै घोषणा गरेकाले लामो रुटका सवारी साधन बिहीबारदेखि नै थन्किएका थिए । जसका कारण वसपार्क पुगेका यात्रु निरास देखिन्थे ।
काठमाडौं लगायत देशका विभिन्न स्थानमा भाडाका सवारी साधनहरू न्यूनमात्रामा देखिए । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।

केन्द्रीय राजधानी काठमाडौंसहित प्रदेश राजधानीमा पनि सार्वजनिक यातायातका साधन चलेका छैनन् । बुटवल, धनगढीलगायतका स्थानमा पनि यातायातका साधन नचल्दा यात्रु मारमा परेका छन् ।

यता सरकारले सिन्डिकेटधारी यातायात व्यवसायीको आन्दोलनका कारण शुक्रबार देशैभरि रुट फ्री गरेको छ । शुक्रबार जुनसुकै सडकमा सरकारले तोकेको भाडादर लिएर सवारीसाधान चलाउन सकिने छ ।
सरकारलाई सिन्डिकेटको विपक्षमा रहेका धेरै व्यवसायीले समेत साथ दिएका छन् । उनीहरुले विभिन्न रुटमा सवारिसाधान चलाउने जानकारी गराइसकेका छन् ।
बिहीबार कम्पनीमा दर्ता भई सवारिसाधान पञ्जिकरण गराएका यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच भएको छलफलमा शुक्रबार ६ सय भन्दा बढी सवारिसाधान चलाउने सहमती भएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।