
काठमाडौँ, २१ वैशाख– दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अर्थमन्त्रीहरुको बाह्रौँ अनौपचारिक बैठक फिलिपिन्सको राजधानी मनिलामा आज सम्पन्न भयो ।
एशियाली विकास बैंक (एडिबी) को ५१औँ वार्षिक बैठकका क्रममा भएको उक्त बैठकका अध्यक्ष अर्थमन्त्री डा युवराज खतिवडाले सार्कलाई निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गरे ।
एडिबीको प्रधान कार्यालय मनिलाबाट राससलाई प्राप्त विवरणअनुसार उनले दक्षिण एशियाली आर्थिक संघ गठन चरणबद्ध रुपमा गर्ने लक्ष्य प्राप्तिका निम्ति साझा प्रयास हुनुपर्नेमा जोड दिए । सार्कका सरकार प्रमुख एवम् राष्ट्राध्यक्षले पनि उक्त संघ चरणबद्ध रुपमा गठन हुनुपर्नेमा जोड दिँदै अाएका छन् ।
सार्कका महासचिव अमजद हुसेन बी सियालले क्षेत्रीय आर्थिक एकीकरणका निम्ति दक्षिण एशियाली आर्थिक संगठन गठन, आर्थिक एकीकरणका निम्ति भएका अध्ययन, पूर्वाधार निर्माण, सतह, जल र हवाई मार्गबाट सदस्य मुलुकहरुबीच सम्र्पक स्थापना तथा ऊर्जाबारे मन्तव्य व्यक्त गरेका थिए ।
एडिबीका उपाध्यक्ष वान्काई झाङले दक्षिण एशियाका जनताको समृद्धि र सार्क मुलुकका आर्थिक उन्नयनमा एडिबीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सदस्य मुलुकका अर्थमन्त्री एवम् प्रतिनिधिमण्डलका प्रमुखले सार्क देशका आर्थिक विकासका लक्ष्य हासिल गर्न एडिबीले गरेको योगदानको सराहना गरेका थिए ।