काठमाडौं, २४ माघ –अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्षको मध्यतिर आएर आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न विकास आयोजनामा करिव २३ करोड रुपैयाँ रकमान्तर गरेका छन् ।

आफ्नो कार्यकाल सकिनै लाग्दा अर्थमन्त्री महराले एउटा आयोजनका लागि छुट्टाइएको बजेट आफ्नो चुनावी जिल्ला र क्षेत्रमा सञ्चालित छुट्टै आयोजनाका लागि रकमान्तर गरेका हुन् । संसदको सार्वजनिक लेखा समितिको सोमवारको वैठकले यो तथ्य वाहिर ल्याएको हो ।
समितिको वैठकमा नेपाली काँग्रेसमा सांसद रामहरि खतिवडाले महराको उक्त कदमका बारेमा विवरण प्रस्तुत गरेका थिए ।
महराले आफ्नो गृहजिल्ला रोल्पामा सञ्चालित विभिन्न विकास आयोजनाका नाममा करोडौंको बजेट रकमान्तर गरेको समिति वैठकमा पेश गरिएका कागजातले पुष्टि गरेको हो ।
सार्वजनिक लेखा समितिको बैठकमा विकास आयोजनामा ठूलो रकम चलखेल गरिएको भन्दै चर्को आलोचना भएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद खतिवाडाले राजनीतिक पहुँचका आधारमा बजेट खर्च हुनुअगावै ठूलो बजेट रकमान्तर भएको भन्दै अर्थ मन्त्रालयको धारणा माग गरे ।
अर्थ मन्त्रालयले गत पौस २७ गते निकासा नं. १६८ को पत्रबाट एकैपटक रोल्पा जिल्लाका आयोजनाहरूमा ११ करोड ७८ लाख रुपैयाँ बजेट रकमान्तर गरेको देखिएको छ । महरा रोल्पाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हुन् ।
त्यस्तै, मन्त्रालयले गत पौस २५ गते निकासा नं. १५५ को पत्रबाट रोल्पा जिल्लामै सञ्चालित अन्य आयोजनाका लागि ११ करोड १० लाख रुपैयाँ, गुल्मी जिल्लाका आयोजनाका लागि ५ करोड २५ लाख रुपैयाँ र बाग्लुङ्ग जिल्लाका विभिन्न आयोजनाका लागि १ करोड ४० लाख रुपैयाँ रकम रकमान्तर गरेको भेटिएको छ ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद विकास लम्सालले सरकारले आफैंले बनाएको नीति नियम बाहिर गएर बजेट रकमान्तर गरेको भन्दै अर्थमन्त्रीको आलोचना गरे ।
नेपाली काँग्रेसका अर्का सांसद हरिप्रसाद नेपालले खर्च हुने आयोजनामा बजेट नजाने र खर्च हुन नसक्ने आयोजनामा सरकारले बजेट रकमान्तर गरेको आरोप लगाए ।
सांसद खतिवडाले सरकारले पहुँचका आधारमा बजेट विनियोजन र रकमान्तर गरेको आरोप लगाए । ‘ के आधारमा रकमान्तर गरिएको हो, अर्थमन्त्रालयले स्पष्ट पार्नुपर्छ ?’ खतिवडाले भने । बैठकममा बोल्ने अधिकांश सांसदले मुलुकमा वित्तीय अनुशासनहितना बढेको भन्दै रोष प्रकट गरे ।
अर्थ सचिव शान्तराज सुवेदीले आर्थिक अनुशासनको दायराभित्रै रहेर आयोजनाका लागि थप निकासा दिएको दावी गरे ।
थप निकासाको व्यवस्थापन गर्न मिल्ने उनको तर्क थियो । ‘निश्चित प्रक्रियाको आधारमा थप निकासा दिन मिल्छ,’ सुवेदीको दाबी रह्यो । जिल्लाको आवश्यकताअनुसार सम्बन्धित निकायबाट स्वीकृति लिएर थप निकासा दिन मिल्ने सचिव सुवेदीको भनाइ थियो ।
सानातिना आयोजना र मोटरबाटो निर्माणका लागि जाने बजेटलाई मन्त्रालयले विस्थापन गर्न खोजे पनि नसकिएको उनले बताए । खर्च नहुने आयोजनाबाट निकालेर उक्त बजेट अन्य आयोजनामा व्यवस्थापन गर्ने नीतिगत प्रक्रियाबाटै रकमान्तर गरिएको सचिव सुवेदीको तर्क छ ।
त्यस्तै, सोमवारको बैठकले तोकिएको शिर्षकमा पूँजीगत खर्च नगर्ने र अन्य शिर्षकमा थप बजेट माग गर्ने निकाय र आयोजनालाई रकमान्तर नदिन सरकारलाई निर्देशन दिएको छ ।
गत पुस २७ गते निकासा नं. १६८ बाट थप निकासा प्रदान गरिएका रोल्पा जिल्लाका आयोजनाहरूबाघमारा– चौँरीचौर – सङकोट– मोटरबाटो –५० लाख रुपैयाँ
लिवाङ– धारापानी मोटरबाटो –१ करोड रुपैयाँ
सुलीचौर छिर्ने कोइरालाखर्क प्युठान मोटरबाटो –५९ लाख
पाछावाङ्गाउँ रालेखोला राक्सेवाङ गाविस भवन जोडने मोटरबाटो –५० लाख
बुढागाउँ जुंगार गौरीगाउँ तिला मोटरबाटो क्रमागत –१ करोड ५० लाख
सुलीचौर काभ्रा मन्धा क्वालीगाउँ हुँदै लकस्मारे सुनिलमार्ग मोटरबाटो –१ करोड
सेरम गाविस भवन जोड्ने सडक –४० लाख
प्यूरी रुन्टी करेटी माडीखोला मोटरबाटो क्रमागत –४० लाख
माडीचौर (पाछावाङ) भावाङ्ग मोटरबाटो निर्माण – ५० लाख
तालावाङ ३,६,७ इरिवाङ मोटरबाटो –पाछावाङ मोटरबाटो –५९ लाख
दहरे सुनवाङ धवाङ गाविस जोड्ने सडक –४० लाख
पाखापानी गाविस जोड्ने सडक –५० लाख
कुन्पा सागुरा इरिवाङ गाविस जोड्ने मोटरबाटो –२० लाख
किमिचौर घोडागाउँ ओवाङ जेडवाङ पथिन्ना मोटरबाटो –५० लाख
मिझिंग रुईनिबांग बडाचौर स्यूरी गाम सडक – १ करोड
दहबन निगालपानी सल्यान सडक रोल्पा –२० लाख
जंकोट बुडहर कुरेनी मिरुल सडक – १ करोड ५० लाख
कुल ११ करोड ७८ लाखगत पुस २५ गते निकासा नं. १५५ बाट निकासा प्रदान गरिएका रोल्पा गुल्मी र बाग्लुङ जिल्लाका आयोजनाहरूःमसिना –जुर –जवाङ्ग सडक –५५ लाख
घर्तिगाउँ ढारावास ओत सडक –५५ लाख
सिस्ने राङ्गसी भावाङ्ग जंकोट सडक –५१ लाख
खुङ्ग्री माडीचौर घर्तिगाउँ रोल्पा सडक –१ करोड
लोक मनहरी पुर्खे सुनवार सहिद सडक –१ करोड ५० लाख
रोल्पा सिस्नेपोखरा सडक –५९ लाख
सल्यान पातिहाल्ना पाखापानी लोदचौर जालिमरे धुरी राकताप्ला सडक –५० लाख
सुक्खा ओडार म्यालखोला दलसिंगे रुकुम सडक –५० लाख
सुलीचौर गुम्चाल हार्जड स्युरी गाम हुँदै मध्यपहाडी लोकमार्ग –१ करोड ५० लाख
पाछावाङ कुङरीबोट तातोपानी रुकुम सडक –४० लाख
सहिद मार्ग दुइखोली चुनवाङ मुसीकोट –१ करोड
जंकोट भावाङ कुरेली सडक –५० लाख
खुङरी चतुर्भूज माडिचौर घोडागाउँ मावि सडक –१ करोड
होलेरी कुर्जा दाङ सडक –१ करोड
जम्मा : ११ करोड १० लाखगुल्मी जिल्ला
दिब्रुङ्गदह साराङ्ग भञ्ज्याङ सडक –४५ लाख
भञ्ज्याङ कालिमाटी चुदारीगाउँ सडक –५० लाख
नक्कली पोखरा मैदान देउराली मसुरीखर्क सडक –३० लाख
रातामाटा कल्लाबोट कहेलपोखरी मोहरमारे सडक –३० लाख
बाख्रे पुर्खे उरिमडाँडा बिरमान सडक –३५ लाख
नयाँगाउँ रहेज काउलेपाटा अरौदी सडक –५० लाख
कुतलडाँडा सिद्वकापाटी रङ्थहिले अर्खबाङ्ग सडक –३० लाख
मजुवा पिपलपाटा किसिमकोट भञ्ज्याङ सडक –४५ लाख
वलिवाङ दिब्रुङ दह सिन्दुघसे सडक –५५ लाख
अर्जेवा न्यूरेनी सालिमेदह सडक –४५ लाख
इन्द्रेगौंडा आँपचौर अर्जेवा शान्तिपूर सडक –५५ लाख
जम्मा : ५ करोड २५ लाख बाग्लुङ जिल्ला
रिजालचोक अमरभूमि अर्मलतारा म्याग्दी रुम सडक –६० लाख
तारा ६ दोगाडी म्याग्दी अर्मन ८ किम्चौर टिकावाङ हुँदै निस्कोट सडक –५० लाख
निशीखोला रोल्पा जिल्ला ग्राम सडक –३० लाख
जम्मा –१ करोड ४० लाख
