१८ असार २०८३, बिहीबार

वाम एकता कहिले घाम कहिले पानी, अध्यक्षबीचको गाँठोले जाममा एकता

बैशाख २७, २०७५
वाम एकता कहिले घाम कहिले पानी, अध्यक्षबीचको गाँठोले जाममा एकता

 काठमाडौं, २७ बैशाख दुई ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया कहिले सहमति नजिक त कहिले अलिक टाढा बन्दै अघि बढिरहेको छ । दुई पार्टी कहिले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् भने उनीहरूले नै पुनः सहमति नजुटिसकेको अभिव्यक्ति दिने गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ 

गत मंसिरमा सम्पन्न निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुई दलबीचको एकता प्रक्रिया अहिलेसम्म कहिले घाम कहिले पानी जस्तै देखिएको छ । कार्यदल, एकता संयोजन समितिमा सहमति नजुटेपछि विवाद हल गर्ने जिम्मा दुई अध्यक्षमा पुगे पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच नै सहमतिको गाँठो नफुक्दा एकता प्रक्रिया नै जाममा परेकोे छ । दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३–२५ चैत अगावै एकता घोषणा गर्ने तयारी गरेका थिए । त्यसपछि ९ वैशाख अर्थात् नेपाल कम्युनिस्ट पार्टी स्थापना तथा लेनिन दिवसको दिन एकता घोषणा गर्ने तयारी गरे पनि विवादका कारण सफल भएन ।

९ वैशाखमा एकता संयोजन समितिको आयोजनामा एकता सन्देश दिने भन्दै आयोजित कार्यक्रममा ब्यानरका कारण विवादसमेत उब्जियो । त्यसको एक सातापछि ओलीले ब्यानरमा विवाद गर्नेलाई ‘केटाकेटी’ को संज्ञा दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा केही दिनअघि मात्र एकताका लागि एमाले नेताहरू लचक हुनुपर्ने जनाएका थिए । त्यसलगत्तै ओलीको ट्विटरबाट विवास्पद अभिव्यक्ति सार्वजनिक भएको थियो ।

ओली–दाहालबीच बुधबार भएको भेटमा दाहालले ओलीसमक्ष ट्विटर अभिव्यक्तिमाथि प्रश्न गरेका थिए । ओलीले उक्त अभिव्यक्ति अर्कै प्रसंगमा लेखिएको भए पनि प्रसंग मिल्दो भएको भन्दै क्षमा मागे ।

ओली र दाहालबीच बुधबार भएको भेटमा एकताको विषयमा छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेको छैन । गत २० वैशाखमा बसेको दुई अध्यक्षबीचको छलफलपछि दुवै पक्षले ठोस सहमति नजिक पुगेको र चाँडै एकता मिति तोक्ने बताएका थिए । स्रोतका अनुसार दुवै पक्ष अहिलेसम्म एकता संयोजन समितिमा मिल्न बाँकी विषयमा सहमति नजिक थोरै पनि अघि बढ्न सकेका छैनन् ।

दुई पार्टीबीच एकतामा कुन पार्टीबाट कति अनुपातमा एकता हुने भन्ने विषयमा सहमति हुन सकेको छैन । माओवादी केन्द्रले ५०÷५० प्रतिशतमा एकता हुनुपर्ने अडान राख्दै आएको छ । एमालेले भने यसअघिका सहमतिअनुसार अनुपात हुने गरी एकता हुनुपर्ने जनाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्