१० असार २०८३, बुधबार

अभिभावकत्व ग्रहणमा गर्ने नाममा आफ्नै प्रचारमा मन्त्रीदेखि सांसदसम्म

बैशाख २७, २०७५
अभिभावकत्व ग्रहणमा गर्ने नाममा आफ्नै प्रचारमा मन्त्रीदेखि सांसदसम्म

बुटवल, २७ वैशाख–वैशाख १० गते प्रदेश नम्बर पाँचमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवल–११ स्थित नहरपुर माविमा दुई बालबालिका (आशा परियार र लक्ष्मी परियार) लाई भर्ना गरेर अभिभावकत्व ग्रहण गरेको प्रचार गरे । 

त्यस्तै बुटवल–४ का वडा अध्यक्ष टंक पराजुलीले रौतहट घर भई बुटवल बस्दै आएका कान्ति माविमा भर्ना गराएर छात्राको सम्पूर्ण खर्च आफूले लिने बताए ।

त्यस्तै वैशाख १० गते प्रदेश नम्बर पाँचमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नी छोरी मुनालाई कालिका मानवज्ञान माविमा भर्ना गराएर मन्त्रीकी छोरी सामुदायिक विद्यालयमा भन्ने प्रचार गरे । यी त केही उदाहरण मात्र हुन् ।  पछिल्लो दुई साता रूपन्देहीमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकत्व लिने लहर चलेको छ । 

तर यस क्षेत्रका शिक्षविद्हरूले जनप्रतिनिधिहरूले प्रधानमन्त्रीको सिको गर्दै आफ्नो प्रचारको लागि अभिभावकत्व ग्रहण गरेको बताउँछन् । लोकप्रियता र प्रचारमुखी बन्दै जनप्रतिनिधिहरूले केही बालबालिकाको अभिभावकत्व ग्रहण गरेको शिक्षा क्षेत्रका बुद्धिजीवीहरूको भनाइ छ । अहिले देशभर भर्ना अभियान चलिरहेको छ । 

शिक्षक तथा लेखक युवराज कंडेलले जनप्रतिनिधिहरूले अभिभावकत्व ग्रहण गर्नुभन्दा संस्थागत विद्यालयमा १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था कडाईका साथ लागू गर्न सके धेरै विद्यार्थीले पढ्न पाउने बताउँछन् ।

‘रूपन्देहीमा विद्यालयमा भर्ना नपाउने विद्यालय छैनन’ कंडेलले भने, ‘सामुदायिक विद्यालयमा एक जना बालबालिकाको खर्च अति न्यून आउछ । भर्ना र पाठयपुस्तर राज्य निःशुल्क गरेको छ । अभिभावकत्व ग्रहण गरेको प्रचार गर्नुभन्दा सबै सामुदायिक विद्यालयको गुणस्तर सुधार र संस्थागत विद्यालयको छात्रवृत्तिमा कडाई गर्न सके सबै बालबालिका विद्यालयको पहुँचमा आउनेछन् ।’

नेपालको संविधान, २०७२ भाग ३ को मौलिक हकको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य र मावि तहसम्म निःशुल्क शिक्षाको प्रष्ट व्यवस्था गरेको छ । रूपन्देहीमा आधारभूत उमेश समूहका २.८ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । 

शिक्षाविद् आनन्दमान शाम्यले कुनै कार्यविधि नबनाइकन सामुदायिक विद्यालयमा विद्यार्थीको अभिभावक बन्न नहुने बताउँछन् । 

‘भर्ना र पाठ्यपुस्तक राज्य निःशुल्क दिन्छ’ उनले भने, ‘एक जना विद्यार्थीको वर्षभरिको खर्च कति लाग्ने रहेछ भनेर कार्यविधि बनाएको भए धेरै जना बालबालिकाहरूले अन्य व्यक्तिहरूले पनि सहयोग गर्न सक्थे । त्यसतर्फ ध्यान दिएको भए राम्रो हुन्थ्यो ।’ 

विद्यालयबाहिर कोही पनि नरहुन् भन्ने सरकारको नीति अनुसार जनप्रतिनिधि र उच्च सरकारी अधिकारीहरुले विपन्न समुदायका बालबालिकालाई विद्यालयमा लगेर भर्ना अभियान सञ्चालन गरेका छन् । 

प्राध्यापक युवराज घिमिरेले सरकार एउटा बच्चाको मात्र अभिभावक खोजेको बताउँछन् । उनले भने, ‘सरकार त सबैको अभिभावक हो । एउटा बच्चाको होइन संविधानमा त आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य छ । यसको ग्यारेन्टी गर्न सक्नुपर्छ ।’

सामाजिक सञ्जालमा तस्बिर खिचाउन र सस्तो प्रचारका लागि कसैको अभिभावकत्व लिने तर पछि उ अध्ययन गर्ने विद्यालयका समस्या तथा गुणस्तर लगायतका विषयमा चासो नलिने पनि देखिदै आएको छ । अहिले जति जे गरे पनि त्यसले तात्विक प्रभाव ल्याउन सक्दैन । हेर्दा सकारात्मक र प्रभावकारी देखिएको विद्यालय भर्ना अभियानमा गाँसिएका जनप्रतिनिधिहरू भावी दिनमा पनि साँच्चिकै अभिभावकीय जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व हुन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्