०१ असार २०८३, सोमबार

लोकान्तर समाचार प्रभाव– प्रधानमन्त्री कार्यालयले वेवारिस शव व्यवस्थापन गर्न वीरलाई दियो निर्देशन

बैशाख २७, २०७५
लोकान्तर समाचार प्रभाव– प्रधानमन्त्री कार्यालयले वेवारिस शव व्यवस्थापन गर्न वीरलाई दियो निर्देशन

काठमाडौं, २७ बैशाख– प्रधानमन्त्री कार्यालयको निर्देशनपछि वीर अस्पतालले बिरामी र कुरुवाहरु आवतजावत गर्ने बाटोमा राखेको वेवारिशे शव व्यवस्थापन गरेको छ ।

अस्पतालको भुइँतलामा रहेको आकस्मिक कक्षको दायाँतर्फ इमर्जेन्सी एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने बाटोमै शव राखिएको भेटिएपछि लोकान्तरले आज बिहान ‘वीर अस्पतालको चरम लापरवाही : ढोकैमा बेवारिसे शव, झस्किँदै हिँड्छन् बिरामी’भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । 

लोकान्तरमा समाचार आएपछि वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतलाई टेलिफोन मार्फत तत्काल शव व्यवस्थापन गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री कार्यलयले लोकान्तरमा फोन गरेर वीर अस्पताललाई शव व्यवस्थापन गर्न निर्देशन दिइएको जानकारी दिएको हो । 

‘लोकान्तरमा समाचार प्रकाशन भएपछि हामीले तत्काल वीर अस्पतालका निर्देशकलाई फोन गरेर यसबारे जानकारी लियौं र शव व्यवस्थापन गर्न अनुरोध गरेका थियौं ।’ प्रधानमन्त्री कार्यलयका अधिकारीले लोकान्तरलाई भने,‘वेवारिसे शवलाई त्यहाँबाट टिचिङ अस्पतालमा व्यवस्थापन गरीएको छ ।’

बुधबार दिउँसो दुईजना व्यक्तिले काठमाडौंमा बस्दै आएका विराटनगरका राजकुमार महर्जनलाई वीर अस्पतालको आकस्मिक कक्षमा ल्याएर छाडिदिएका थिए । अस्पतालमा वेबारिसे बनेका उनको कलेजोमा देखिएको समस्याका कारण बुधबार साँझ नै मृत्यु भएको थियो ।

अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. भोलाराम श्रेष्ठले सो शव बेवारिसे रहेको र अन्यत्र राख्ने ठाउँ नहुँदा त्यहीँ राखेको बताएका थिए । 

वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले आफुलाई प्रधानमन्त्री कार्यलयबाट वेवारिसे शव व्यवस्थापन गर्न निदेर्शन आएको र शव केही समय अघि व्यवस्थापन गरीएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्