काठमाडौं, २८ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवारबाट दुईदिवसीय भ्रमणका क्रममा नेपाल आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा उनी आउन लागेका हुन् ।
मोदीको नेपाल भ्रमणलाई भारतीय पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन् । नवभारत टाइम्सको शुक्रवार प्रकाशित अन्लाइन संस्करणमा ओली नेतृत्वको बलियो वामपन्थी सरकार बनेको केही समयभित्र मोदीको भ्रमण हुन लागेको उल्लेख छ ।
मोदीको भ्रमणलाई नेपाली संविधानलाई भारतले गरेको समर्थनका रूपमा हेरिँदैछ ।
प्रधानमन्त्री ओलीले सन् २०१५ मा जारी गरिएको संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिखेर भारतले संविधानलाई समर्थन गरेको थिएन । त्यसपछि नेपालविरुद्ध गैरआधिकारिक नाकाबन्दी लागेको पत्रिका लेख्छ ।
तीन वर्षभित्र मोदीको तेस्रो नेपालभ्रमण ‘छिमेकी पहिले’ नीतिमा उनको प्रतिबद्धता अनि पुरानो घाउ भर्ने किसिमको विदेशनीति सम्हाल्ने उनको चातुर्य दर्शिन्छ भनी पत्रिका दाबी गर्छ ।
पत्रिका थप लेख्छ :
काठमाडौंमा प्रधानमन्त्रीद्वय मोदी र ओली शनिवार ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको आधारशिला राख्नेछन् । भारतको सहायतामा यो परियोजना बनिरहेको हो । अरुण तेस्रो नेपालमा बन्ने सबभन्दा ठूलो जलविद्युत्
परियोजना हो र यसका लागि नेपाल सरकारले हालै जेनरेसन लाइसेन्स जारी गरेको छ । यो परियोजना पाँच वर्षमा पूरा हुने आशा गरिएको छ र यो नेपालको अर्थव्यवस्थामा गेमचेन्जर साबित हुनेछ ।
नेपालका पूर्व विज्ञान तथा प्रविधिमन्त्री सुनिल मानन्धर भन्छन्, ‘मोदीको यात्राले निश्चित रूपमा नेपाल–भारत सम्बन्धमा सुधार आउनेछ । केन्द्रमा स्थिर सरकार भएको महत्त्वपूर्ण समयमा यो भ्रमण भइरहेको हो । नयाँ सरकारको नारा आर्थिक सम्पन्नता र विकास हो ।’ सुनिलले भारतबाट सहयोग र सहायता प्राप्त गर्नका लागि यो भ्रमण महत्त्वपूर्ण हुने बताए ।
नेपालका पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘यो भ्रमणबाट भारतले नेपालसँगको आफ्नो सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ र हाम्रो सरकारले अधिकतम लाभ पाउनेतर्फ ध्यान दिनुपर्छ ।’
महत भन्छन्, ‘नेपाली कांग्रेसले राम्रो छिमेकी नीतिलाई लगातार अनुसरण गरेको छ र हामी कूटनीतिक तरिकाले कुनै पनि समस्या र दुई देशको मुद्दा सुल्झाउनेमा विश्वास राख्छौं ।’