
जनकपुरधाम, २८ वैशाख-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाका तर्फबाट नागरिक अभिनन्दन गरिएको छ ।
नेपालको आफ्नो दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार जनकपुर आइपुगेका मोदीलाई बाह्रबिघा मैदानमा आयोजित विशेष समारोहका बीच नागरिक अभिनन्दन गरिएको हो ।
जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र पढेर सुनाएका थिए ।
नागरिक अभिनन्दन पत्र विभिन्न ४ भाषामा तयारपारिएको छ ।
के छ अभिनन्दन पत्रमा ?
अभिनन्दनमा मोदीलाई श्रेष्ठतम् मानव मूल्यमा आधारित राजनैतिक संस्कृतिको उद्घोषक तथा युग पुरुष भनिएको छ ।
मोदीलाई संघीय गणतन्त्रात्मक लोकतन्त्रको ‘लौह ध्वजाधारी’ भनिएको छ । त्यसैगरी मोदीलाई पौरवर्तय मनिषी परम्पराका मनस्वी साधकजस्ता विशेषणका साथ लेखिएको अभिनन्दन पत्रमा मोदीको गुनगान गर्दै भनिएको छ, ‘अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा तपाईंको अरूणोदयले युद्ध तथा आतंकको भयाभह स्थितिमा थरथर काम्नेहरूको प्राणको कण-कणमा अजश्र आशा र ऊर्जाको किरण पल्लवित भएको छ, त्यो भारतीय उपमहाद्वीपको इतिहासको यो स्वर्णिम अध्याय हो ।’
प्राचीन ऋषि परम्पराको तपाईं गौरवपूर्ण विभुति हुनुहुन्छ । तपाईंको रोम-रोमबाट जसरी कुनै ऋचा अनवरत उत्सर्जित हुन्छ, मानव मंगलका लागि, हामीहरू तपाईंको प्रत्येक पाइलामा सँगै छौं, भन्दै अभिनन्दन पत्रमा लेखिएको छ, ‘नेपाल भारतबीच धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ, श्री रामको युगदेखि अहिलेसम्म हामीहरूको सम्बन्ध अक्षुण छ, अहिलेसम्म संसारमा यस्तो कुनै हतियार बनेको छैन, जसले हाम्रो भावनात्मक सम्बन्धको डोरीलाई काट्न सकोस् ।’
गणराज्यको स्थापनाको प्रारम्भ भएको यो भूमि संघीय शासनको अंग बनी छ वटा दर्शनमध्ये चारवटा दर्शनको प्रादुर्भाव जैमिनी, कणाद, कपिल तथा गौतमद्वारा यहीं गरियो, त्यही विदेहको थलोमा तपाईंलाई सम्मानित गर्ने अवसरले गौरवको अनुभूति भएको छ, मेयर लालकिशोर साहले गरेको अभिनन्दन पत्रमा उल्लेख छ ।