जनकपुर, २८ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधानलाई ‘विभेदकारी’को आरोप लगाएका छन् ।
संघीय समाजवादी फोरमका नेता समेत रहेका मुख्यमन्त्री राउतले पार्टीको लाइनअनुसार संविधानलाई विधेदकारीको आरोप लगाएका हुन् । फोरमले नेपालको संविधानलाई विभेदकारीको आरोप लगाउँदै आएको छ ।
नयाँ संविधानको व्यवस्थाअनुसार शपथ खाएका मुख्यमन्त्रीले अन्तर्राष्ट्रिय पाहुना उपस्थित मञ्चबाट संविधानको विरोध गरेका हुन् ।
विगतमा नेपालको संविधानप्रति रिजर्भेसन राखेको भारतले समेत नेपालको संविधान स्वागत गरिसकेको समयमा मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममा संविधानको विरोध गरेका हुन् ।
सम्वोधनका क्रममा मुख्यमन्त्री राउतले नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलको नाम उच्चारण गरेनन्, तर उनले फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा नेता राजेन्द्र महतोको नाम उच्चारण गरे ।
प्रदेश नम्बर २ लाई पिछडिएको प्रदेश भन्दै सम्बोधन शुरु गरेका मुख्यमन्त्री राउतले प्रदेश २ को आर्थिक विकासका लागि भारतसँग साझेदारी बढाउन चाहेको बताए ।
विदेश सम्बन्ध केन्द्र सरकारको विशेषाधिकार भए पनि मुख्यमन्त्री राउतले प्रदेश सरकारले भारतसँग विशेष सम्बन्ध विस्तार गर्न चाहेको बताए ।