
काठमाडौं, २८ वैशाख – थाइल्यान्डको नाखोन फेनम प्रान्तको एक गाउँमा पुरुषहरू महिलाको लुगा लगाउँछन् । यसको पछाडि अनौठो कारण छ ।
यस गाउँका मानिस एक विधवाको भूतसँग डराएका छन् । त्यसैले यस गाउँका पुरुषले महिलाको कपडा लगाउन शुरु गरेका हुन् ।
विगत केही दिनयता यो गाउँमा पाँच मानिस निदाएकै अवस्थामा बिते । गाउँलेहरूले यी मानिसको मृत्युमा एक विधवाको भूत जिम्मेवार रहेको माने ।
गाउँलेहरूका अनुसार, विधवाको भूतले गाउँका पुरुष र युवकहरूलाई शिकार बनाइरहेको छ । गाउँका महिलाले आफ्ना पति र छोराहरूलाई बचाउनका लागि महिलाको कपडा लगाइदिन थालेका हुन् । यसो गर्दा भूत झुक्किएर
गाउँमा महिला मात्र छन् भन्ने ठान्ला भन्ने उनीहरूको मान्यता छ । गाउँका मानिसले भूत भगाउनका लागि आआफ्नो घरमा बुख्याँचा पनि उभ्याएका छन् ।
अचम्मको कुरा त मानिसले बुख्याँचाको एक लिंग पनि बनाएका छन् जसको लम्बाइ ८० सेन्टिमिटर छ । भूतले बुख्याँचालाई देखेर भाग्ने विश्वास गरिन्छ । 
बुख्याँचा राखेपछि कुनै पनि पुरुषको मृत्यु नभएको मानिसहरू बताउँछन् । तर मानिसहरूको मृत्युको वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन ।
एजेन्सी