काठमाडौं, ३० वैशाख – इरानका परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफ आइतवार बेइजिङ गएका छन् । उनको यो भ्रमण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता रद्द गरेको घोषणा गरेपछि भएको हो ।
जरीफले चीन भ्रमणमा आणविक सम्झौता मुद्दामा कुरा गर्नेछन् । अन्तर्राष्ट्रिय समुदायले अमेरिकामाथि सम्झौता रद्द नगर्नलाई दबाब बढाओस् भन्ने इरानको प्रयास छ ।
इरानका परराष्ट्रमन्त्री चीनपछि रुस तथा अन्य युरोपेली मुलुक जानेछन् । सम्झौता रद्द भएपछिको अवस्थाका बारेमा चर्चा गर्नका लागि उनी त्यहाँ जान लागेका हुन् ।
ट्रम्पले मंगलवार अमेरिका अब इरानसँगको जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन सम्झौताबाट अलग्गिएको घोषणा गरेका थिए । ट्रम्पको निर्णयलाई इरानका साथसाथै अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।
सन् २०१५ मा इरानले अमेरिका, बेलायत, जर्मनी, रुस, फ्रान्स र चीनका साथ आणविक सम्झौता गरेको थियो । यसअन्तर्गत इरानले आणविक कार्यक्रममाथि रोक लगाएको थियो र उसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धबाट छुट पाएको थियो ।
एजेन्सी