
सुर्खेत, ३० बैशाख– नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्णाली प्रदेश सम्भावना भएको प्रदेश भएको बताएका छन् ।
नेपाली काँग्रेस सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ नेता पौडेलले कर्णाली प्रदेश नेपालकै सम्वृद्ध प्रदेश बन्ने सम्भावना भएको बताए ।
‘प्राकृतिक स्रोत र साधनले भरिपूर्ण प्रदेश कर्णाली प्रदेश हो’ उनले भने, ‘साधन र स्रोतलाई प्रयोग गर्न सकेको खण्डमा प्रदेशलाई समृद्ध बनाउन सकिन्छ ।’
नेता पौडेलले कर्णाली प्रदेशमा चुनौतिहरु समेत रहेको बताए । ‘भौगोलिक विकटता यहाँको मुख्य चुनौति हो ।’ उनले भने, ‘ती चुनौतिहरुलाई सामना गर्न सके प्रदेश समृद्ध बन्छ र त्यसको अगुवाई नेपाली काँग्रेसले गर्नुपर्छ ।’
वरिष्ठ नेता पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका वेला नेपाल सरकारले भरपूर फाइदा लिन नसकेको बताए ।
‘ठूलो राष्ट्रवादका कुरा गर्ने सरकारले राष्ट्रियताकाबारे भारतका प्रधानमन्त्रीसँग केहि गर्न सकेन’ उनले भने,‘ भारतका प्रधानमन्त्री आएकाले वेला नेपालले धरै कुरा पुरा गर्न सक्ने अवस्था रहेको थियो ।’
बरिष्ठ नेता पौडेलले नेपालका कम्यूनिष्टहरु एक भएर मुलुक परिवर्तन गर्ने भनेर जनतासंग भोट लिएर सरकार बनाएको यतिका दिन हुँदासम्म पनि जनताले केही नपाएको आरोप लगाए । दुई तिहाइ बहुमतको सरकार भए पनि देशले केही नपाएको उनको भनाइ छ ।
यसैगरि नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले एमाले र माओवादी एकता गरे पनि उनीहरुलाई जित्ने पार्टी कांग्रेसलाई बनाउन लाग्नु पर्ने बताए । एकिकृत पार्टीको मतलाई चिर्ने पार्टी बनाएर चालिस प्रतिशत मत बढाएर जाने उनको भनाइ छ ।
कार्यक्रममा कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही, पूर्व राज्य मन्त्रीद्वय खड्कबहादुर बस्याल, तप्तबहादुर विष्ट, नेपाल तरुण दलका पुर्व अध्यक्ष उदयशम्शेर राणलगायतले आफ्नो धारणा राखेका थिए ।