०५ असार २०८३, शुक्रबार

गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द काठमाडौँमा, यस्तो छ उनको कार्यक्रम

बैशाख ३०, २०७५
गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द काठमाडौँमा, यस्तो छ उनको कार्यक्रम

काठमाडौँ, ३० वैशाख - जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती आज नेपालको साताव्यापी धार्मिक यात्रामा आउनुभएको छ । 

सोमबार बिहान उहाँले पशुपतिनाथ मन्दिरमा वैदिक विधिअनुसार विशेष पूजा गर्नुहुनेछ । पूजापछि पशुपतिको शंकराचार्य मठमा उहाँको विश्रामको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिमा विशेष पूजा र विश्रामपछि हंसमण्डपमा शंकराचार्य निश्चलानन्द सरस्वतीले प्रवचन दिनुहुने कार्यक्रम रहेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । 

जेठ १ गते मंगलबार टुँडिखेलमा शंकराचार्यको नागरिक अभिनन्दन गरिनेछ । नागरिक अभिनन्दनपछि उहाँले टुँडिखेलमा पनि प्रवचन दिनुहुनेछ । जेठ २ गते बुधबार त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गर्ने कार्यक्रमलाई शंकराचार्य निश्चलानन्द सरस्वतीले सम्बोधन गर्नुहुनेछ । 

जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उहाँले प्रवचन गर्नुहुनेछ । आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योतिर्मठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५औँ शंकराचार्य हुनुहुन्छ । 

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयेन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आउनुभएको थियो । यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् । 

शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ । 

समितिले सोमबार र मंगलबार अपराह्न ३ बजे कमलपोखरीस्थित अग्रवाल भवनमा धर्मसभाको आयोजनासमेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्