
काठमाडौं, ३१ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कुटनीतिक र राष्ट्रिय मर्यादाको कसीमा कतिपय कमजोरी भएको स्वीकार गरेका छन् ।
मोदीको नेपाल भ्रमणबारे आइतबार संसदलाई जानाकारी गराउँदै प्रधानमन्त्री ओलीले मोदी भ्रमणमा मुख्यमन्त्रीबाट भएको ’कुटनीतिक कमजोरी’ स्वीकारेका हुन् ।
प्रधानमन्त्रीले नाम नै नलिइ प्रदेश २ का मुख्यमन्त्रीले जनकपुरमा दिएको मनतब्य ’अनुपयुक्त’ र कमजोरीपूर्ण भएको बताएका हुन् ।
मोदीको भ्रमणको पहिलो दिन शुक्रबार जनकपुरमा भएको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई सम्बोधन गर्दै ’मधेसको संघर्ष अझै पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि भएको’ अभिव्यक्ति दिएका थिए ।
यसैबीच संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हवाई रुट थप्न भारतसँग सहमति भएको बताएका छन् । संघीय संसद्को बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल भएको जानकारी गराउँदै थप ४ हवाई रुट थप्ने सहमती भएको बताएका हुन् ।
यसका लागि प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको बताउँदै ओलीले काठमाडौं रक्सौल रेल्वे निर्माण समझदारी पत्रमा चाडै हस्ताक्षर हुने जानकारी गराए । तराईमा रहेको डुवानको समस्या समाधान गर्न पनि भारतीय प्रमसँग गम्भीरताका साथ कुरा उठाएको ओलीले संसदलाई जानकारी गराए ।
यस्तै बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू छिमेकीसँगको सम्बन्ध सुधारमा केन्द्रीत रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमण उपलव्धि पूर्ण भएको बताए ।
भारत र चीनसँग सुमधुर र सुदृण र पारस्परिक विश्वास र भरपर्दो सम्बन्ध कायम गर्न आफू केन्द्रित हुने बताउँदै त्यसका लागि छिट्टै चीन जाने ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधामन्त्रीको भ्रमण सफल भएको दावी गरिहदा नेपाली कांग्रेसका नेताले भने मोदीको भ्रमणबाट नेपालले कुनै उपलब्धी हासिल गर्न नसकेको टिप्पणी गरेका छन् । कार्यकर्ता भेटघाटका क्रममा सुर्खेतको विरेन्द्रनगर पुगेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मोदीको भ्रमणबाट देशले केही पनि लिन नसकेको टिप्पणी गरेका हुन् ।
नयाँ बजेटबारे सांसदहरूको सुझाव
सांसदहरूले जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा धारणा राख्ने अधिकांश सांसदले यस्तो सुझाव दिएका हुन् ।
बैठकमा सांसदहरुले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार बनाई बजेटको प्रभावकारी कार्यान्वयन गर्ने तथा व्यावहारिक रुपमा आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्न जोड दिएका थिए । समृद्धिका लागि आत्मबल तयार पार्ने तवरले बजेट आउनुपर्नेमा जोड दिँदै सांसदले वर्तमान सरकारप्रति जनताको असाधारण विश्वास रहेको विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।
सत्तापक्षका सांसदले अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन जनाएका थिए भने प्रतिपक्षी दलका सांसदले भने वर्तमान सरकारले दिशाहीन र नेपाली जनताले खासै नयाँपन पाउनेखालको प्रस्ताव आएको गुनासो गरेका थिए ।
गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले कानूनविपरीत तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा र विपद् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठीमा आइतबार उनले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा प्रदेशको विद्यमान सुरक्षा अवस्था, चुनौती र समाधानबारे प्रस्तुति र छलफल भएको थियो । गृहमन्त्रीबाट जारी ८२ बुँदे कार्ययोजना र ३७ बुँदे निर्देशन, शान्ति सुरक्षा, सुशासन र नीतिगत अस्पष्टतालाई स्पष्ट पार्ने, मौसमी विपद्को तयारी तथा व्यवस्थापन र समग्रमा त्रुटिरहित सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यसाथ गोष्ठी आयोजना गरिएको हो ।
स्थानीय र प्रदेश सरकारबीच समन्वय, यातायातको सिन्डिकेटको अवस्था, सुशासनलगायत आवश्यक कानुन नबन्ने बेलासम्म शान्ति सुरक्षाका लागि आवश्यक समन्वय विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बताए ।
मुलुक लोडसेडिङमुक्त
मुलुक सोमवारदेखि लोडसेडिङमुक्त हुने भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताएका हुन् ।
प्राधिकरणले २०७३ तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरमा लोडसेडिङमुक्त गरेको थियो । प्राधिकरणले गार्हस्थ्य उपभोक्ताका लागि पूर्णरुपमा लोडसेडिङ अन्त्य गरे पनि औद्योगिक ग्राहकका हकमा दैनिक तीन घण्टा आपूर्ति कटौति गर्दै आएको थियो ।
प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठक
प्रदेश नं ५ को आइतवार बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ । बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
अब बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सैद्धान्तिक छलफल हुने छ । यस्तै प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि शुरु हुने भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बहुमत सांसद विरोध
विराटनगरमा प्रदेश १ को नयाँ संसद् भवन बनाउने तयारी भएपछि बहुमत सांसद विरोधमा देखिएका छन् । प्रदेशको नाम र राजधानीको टुंगो नलाग्दै संसद् सचिवालयले संसद् भवन बनाउन शुरु गरेको भन्दै विरोध भएको हो ।
स्थायी राजधानीको टुंगो नलाग्दै विराटनगरमा १ करोड रुपैयाँ बढी खर्चेर नयाँ भवन बनाउन लागिएको भन्दै विराटनगर बाहिरका सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, ताप्लेजुङलगायतका जिल्लाका ४३ सांसदले प्रक्रिया रोक्न माग गरेका छन् । उनीहरूले सभामुख प्रदीपकुमार भण्डारीसमक्ष विपक्षमा रहेका सांसदहरूको हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।
तातोपानीमा बाढीबाट दुई घर पुरिए
अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए ।
भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पु¥याएको छ ।
१२ वर्षमा २१ हजार बालबालिका र युवा बेपत्ता
१२ वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएको तथ्याकं सार्वजनिक भएको छ । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष ०६३–६४ देखि ०७४–७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ ।
चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ । १२ वर्षमा हराएका २१ हजार ४३५ मध्ये पुरुष १० हजार ४६२ र महिला १० हजार ९७३ छन् । सोमध्ये १० हजार ७४४ फेला परेको र १० हजार ६९१ अझै बेपत्ता छन् । यसैगरी चालू आवमा बेवारिसे ३२६ जना फेला पारेका छन् ।
एमालेको आपत्ति
भारतीय जनता पार्टीका सांसद किर्ति आजादले केही दिनअघि दिएको अभिव्यक्तिको सत्तारुढ दल नेकपा एमालेले निन्दा गरेको छ । एमालेको वैदेशिक मामिला विभागले विज्ञप्ति जारी गर्दै सांसद आजादले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला शुक्रबार भाजपाका सांसद आजादले ट्वीटमार्फत ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब मोदीले भारतमा फर्काउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
मेगा बन्यो तेस्रो ठूलो बैंक
मेगा बैंक नेपालकै तेस्रो ठूलो बैंक बनेको छ । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज गर्दै तेस्रो ठूलो बैंक बनेको हो ।
कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकपछि मेगा तेस्रो ठूलो बैंक बनेको हो । कृषि विकास बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड, इन्भेष्टमेन्टको १० अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने मेगाले ९ अर्ब २९ करोड रुपैयाँ पुर्याएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज गर्दै नियमन निकाय नेपाल राष्ट्र बैंकले तोकेभन्दा चुक्ता पुँजी १ अर्ब २९ करोड रुपैयाँ बढी पुर्याएको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ८ अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउन दिएको निर्देशनअनुसार मेगाले टुरिजमलाई मर्ज गरेको हो ।
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता
नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिए ।
दुईदिने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।