१३ असार २०८३, शनिबार

आँधीबाट कैलालीमा एक जनाकाे मृत्यु, विद्युत् आपूर्ति बन्द

बैशाख ३१, २०७५
आँधीबाट कैलालीमा एक जनाकाे मृत्यु, विद्युत् आपूर्ति बन्द

धनगढी, ३१ वैशाख- कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताउनुभयो । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ । 

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्