०६ असार २०८३, शनिबार

मुख्य समाचार : मोदीको भ्रमणलाई लिएर संसद्मा सवाल-जवाफ, सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

मुख्य समाचार : मोदीको भ्रमणलाई लिएर संसद्मा सवाल-जवाफ, सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौं, १ जेठ– सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । सो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको छ ।

संसदमा सत्तापक्ष र प्रतिपक्षबीच सवाल-जवाफ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमणलाई लिएर संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सवाल-जवाफ भएको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकलाई सम्बोधन गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले मोदीको भ्रमणका क्रममा देखिएका सुरक्षालगायतका विषयमा प्रश्न उठाए भने सत्तापक्षका सांसदले त्यसको जवाफ फर्काउदै भ्रमण सफल भएको दावी गरे ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले परिवर्तित समयमा सम्बन्ध थप सुदृढ बनाएको बताए । बैठकमा सांसदहरूले भारतीय प्रधानमन्त्रीको भ्रमणका विभिन्न प्रसंगबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

परराष्ट्र मन्त्री ज्ञवालीले ‘सेप्टेम्बर १९ को डेडलाइन बनाएर सबै विषयहरूमा छलफल भएको’ जानकारी गराए । सांसदहरूले भारतीय सांसद किर्ती आजादको ट्वीटको प्रसंग समेत उठाएका थिए । यसको जवाफमा मन्त्री ज्ञवालीले नेपालको सन्दर्भमा आएको धारणा सम्बन्ध बिगार्ने कुत्सित मनसायबाट लक्षित रहेको बताए । 

बैठकमा माओवादी केन्द्रकी सांसद पम्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीको भ्रमण मिती सार्वजनिक भारतीय तर्फबाट हुँदा कूटनीतिक कमजोरी देखिएको बताइन् । 

बैठकमा प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापा र मिनेन्द्र रिजालले नाकाबन्दी गलत थियो भन्न नदिइएकोप्रति आपत्ति जनाए । सांसद रिजालले प्रदेश नम्बर २ का मुख्यन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणा अस्पष्ट भएको बताए । 

बैठकमा कांग्रेसका अर्का सांसद गगन थापाले जनकपुरमा प्रयोग भएको झण्डाबारे प्रदेशका मुख्यमन्त्रीलाई नभई परराष्ट्र मन्त्रीलाई पाठ पढाउनु पर्ने बताए ।

राष्ट्रिय झण्डा बिगारिएकोमा तीन दिने स्पष्टिकरण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ । 

संघीय मामिला मन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र संविधान विपरीत रहेको भन्दै प्रदेश २ का मुख्य सचिवसहित सरकारी अधिकारीहरुसँग स्पष्टिकरण माग्नु भएको हो । 

मन्त्री पण्डितका स्वकीय सचिव वसिम आलमका अनुसार प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण मागिएको हो ।

बजेट अधिवेशन शुरु
प्रदेश नं ५ को बजेट अधिवेशन सोमवारदेखि शुरु भएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा भएको प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता समेटिएको प्रस्ताव पेश गरे । 

मुख्यमन्त्री पोखरेलले प्राथमिकताका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने जानकारी दिँदै पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताए । उनले भौतिक पूर्वाधारको विकास तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको उत्थानका लागि समुचित बजेट विनियोजन गरिनेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले प्राथमिकता भएको बताए ।

यस्तै, प्रदेश नं ३ सरकारले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५÷७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ । प्रदेश नम्वर ३ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यविधि पारित गरेको हो । 

दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा पूर्वाधार मन्त्री कैलाश ढुंगेलले बताए । मन्त्री ढुंगेलले आगामी २०७५/७६ का लागि छुट्याइने बजेटमा पर्यटन कृषि, सुरुङमार्ग, सडक यातायात, ग्रामीण विद्युतीकरण, स्वास्थ्योपचार केन्द्र र झोलुङ्गे पुललाई उच्च प्राथमिकता दिएको बताए । 

प्रदेश विनियोजन विधेयकलाई स्वीकृति
प्रदेश नं ७ को मन्त्रिपरिषद्कोे सोमवार बसेको बैठकले प्रदेश विनियोजन विधेयक, २०७५ लाई स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न पनि स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले जानकारी दिए ।

यस्तै प्रदेशको कर तथा गैरकर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ तर्जुमा गर्न र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ‘हेलो सिएम’ कार्यक्रम प्रारम्भ गर्न बनाइएको कार्यविधिलाई समेत स्वीकृति प्रदान गरेको छ ।

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित 
कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित छन् । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा सो क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ ।

करीब पाँच महिनाको समयअवधिमा गरेको सो अनुसन्धान प्रतिवेदनमा त्यस क्षेत्रका अधिकांश जमिन भिरालोपन र भूकम्पका जोखिममा छन्, त्यस कारण त्यहाँका  नागरिक असुरक्षित महसुस गरिरहेको जनाएको छ । 

कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालीकोट जिल्लामा असुरक्षित बस्तीको अध्ययन गर्न आयोगले विज्ञ डा दीपेन्द्र रोकायको संयोजकत्वमा दीपकबहादुर बुढा सदस्य रहेको एक समूह गठन गरेको थियो । उक्त समूहले तयार पारेको मस्यौदा प्रतिवेदनमा सुरक्षित बस्तीको खोजी गर्न सुझाइएको छ ।  

विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्न दुई दिन लाग्ने 
हावाहुरीका कारण आइतबार राति तराई–मधेश क्षेत्रस्थित नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ । 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको छ ।  महेन्द्रनगरबाट शुरु भएको हावाहुरीले सयौँ घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ । 

हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिए । 

समाचार साभार नगर्न काउन्सिलको ध्यानाकर्षण
प्रेस काउन्सिल नेपालले बिनाअनुमति तथा विश्वसनीयताको परीक्षण नगरी कुनै समाचार र समाचार सामग्री साभार नगर्न÷नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको छ । 

कुनै आमसञ्चारमाध्यमले तयार पारेको समाचार सामग्री अर्को आमसञ्चारमाध्यमले जस्ताकोतस्तै साभार गर्दा आफूलाई असर गरेको भन्ने उजुरी राष्ट्रिय समाचार समिति (रासस) लगायतका माध्यमबाट पर्ने गरेको काउन्सिलले जनाएको छ ।

यस्तै कतिपय आमसञ्चारमाध्यमले आफ्ना मौलिक समाचार तथा समाचार सामग्री अनुमतिबिना सम्प्रेषण हुने गरेको भन्दै यस्तो कार्य नगर्न सार्वजनिक सूचनासमेत जारी गरेका छन् । यस्ता प्रवृत्तिका कारण सिङ्गो पत्रकारिता जगत्प्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको काउन्सिलको ठहर छ । 

प्रेस काउन्सिलको पछिल्लो अनुगमन र अभिलेखअनुसार समाचार सामग्री साभार गर्ने कार्यमा सबैभन्दा अगाडि विभिन्न अनलाइन माध्यम देखिएका छन् । 

साढे ३३ किलो सुन काण्डमा थप दुई पक्राउ
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी सोमवार मुद्दा चलाएको छ । मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी सहयोग गर्ने झापा, दमक –९ का विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठलाई संगठित अपराध र अवैध सुन चोरी निकासी पैठारी मुद्दा लगाइएको छ ।

मोरङ जिल्ला अदालत मोरङले अभियुक्त दुवैलाई पाँच दिन म्याद थप गरेको सरकारी वकिल पुण्यप्रसाद पाठकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले सो सुन काण्ड र हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गराएकामा ३० जना पक्राउ परेका छन् भने ३३ जना अझै फरार छन् । 

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन
नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको सोमबार साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।

कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना भएका शाहको उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले जानकारी दिए । 

सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो । 
राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ ।

मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्