
एक चिनियाँ महिलाले दुई वर्षअघि बिदामा घुम्न जाँदा एउटा भोटेकुकुरको छाउरो किनेको बताएकी छन् । उनले त्यसको नाम ‘सानो काले’ राखिन् ।
छाउरो तीव्र गतिमा बढ्दै गयो । दुई वर्षमा ऊ २०० किलोको एसियाली कालो भालु पो भयो र उसलाई जनावर संरक्षण केन्द्र पु–याउनुप–यो ।
‘मैले उसलाई घर ल्याउँदा ऊ सानो भोटेकुकुर थियो । तर बढ्दै जाँदा ऊ भालुजस्तो देखिन थाल्यो । मलाई भालुदेखि डर लाग्छ,’ युन्नान प्रान्तको युलियाङको एक गाउँमा बस्ने सु यान बताउँछिन् ।
उनलाई कुकुरको छाउरो भनी ठगिएको भएपनि उनले त्यो जनावरलाई दुई वर्षसम्म खुवाइरहिन् । सानो काले संवेदनशील प्राणी भएको र उसलाई मालिक नहुँदा डर लाग्ने र आफूलाई घाइते बनाउने सम्भावना रहेको उनी ठान्छिन् ।
भालुको स्याहार गर्नु आफैंमा गाह्रो काम हो भन्छिन् उनी । भालुले दिनमा एक बाकस फलफूल र दुई बाल्टिन नूडल खाने गरेको उनको भनाइ छ ।
एकदिन सुले एउटा पर्चा भेटिन् जसमा लेखिएअनुसार संरक्षित वन्यजन्तुलाई अनुमतिपत्रविना घरमा राख्नु अवैध हो ।
सुले त्यसपछि युन्नान वन्यजन्तु उद्धार केन्द्रलाई सम्पर्क गरिन् र जनावरलाई बेहोश बनाएर नयाँ घर लगियो । पशुचिकित्सकहरूले भालु स्वस्थ रहेको र उसमाथि दुर्व्यवहार नभएको पाए ।
यसले गर्दा अधिकारीहरूले सुलाई जनावर चिन्ने कमजोर क्षमताका लागि दण्ड नदिने भएका छन् ।
एजेन्सी