
काठमाडौं, २ जेठ – मलेसियाली राजनीतिकर्मी अनवर इब्राहिमलाई कारागारबाट मुक्त गरिएको छ । उनले विपक्षी दलको निर्वाचन विजय मलेसियाको नयाँ शुभप्रभात भएको टिप्पणी गरे ।
पहिला मलेसियाको भविष्यका नेता भनी हेरिएका उनलाई सरकारसँग मतभेद भएपछि अप्राकृतिक यौन र भ्रष्टाचारको आरोपमा कारावास सजाय दिइएको थियो ।
मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहम्मदले अनवरका लागि क्षमादान मागेका थिए र यो बुधवार बिहान दिइयो ।
महाथिरले दुई वर्षपछि अनवरलाई प्रधानमन्त्री बनाउनका लागि पदत्याग गर्ने प्रतिज्ञा गरेका छन् ।
अनवरलाई तीन वर्षअघि दोस्रोपटक कारावास सजाय दिइएको थियो । आफूविरुद्ध अप्राकृतिक मैथुनको मिथ्या आरोप लगाइएको उनले बताउँदै आएका थिए ।
कारागारमुक्त भएपछि उनले एक पत्रकार सम्मेलनको आयोजना गरेर मलेसियाली जनतालाई धन्यवाद दिए जो ‘लोकतन्त्र र स्वतन्त्रताको सिद्धान्तलाई अँगालेर बसेका छन्’ ।
वर्षौंसम्म अनवरले मलेसियाको विपक्षी आन्दोलनको नेतृत्व गरेका थिए । उक्त आन्दोलनले सत्तारूढ दललाई देशको इतिहासमा पहिलोपटक हराएको छ ।
अघिल्लो हप्ताको स्तब्धकारी निर्वाचन परिणामपछि महाथिर र अनवरको पुनर्मिलन सम्भव भएको हो । महाथिरले नै अनवरलाई २० वर्षअघि कारागारमा कोचेका थिए ।
अनवरले महाथिरलाई माफी दिएको र नयाँ सरकारलाई पूर्ण समर्थन दिने बताए । तर उनी तत्कालै सरकारमा जाने छैनन् ।
बीबीसीबाट