काठमाडौं, २ जेठ– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी भएको स्थायी समिति बैठकलाई जानकारी गराएका छन् । आज बिहान बालुवाटारमा प्रचण्डसँग भएको वान टु वान वार्तामा सो सहमति भएको ओलीले जानकारी गराएका हुन् ।
आजै साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकमा ओलीले भोलि पार्टी एकता गर्ने सहमति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको जानकारी गराएका हुन् ।
ओलीले भोलि बिहान १० बजे बस्ने एकता संयोजन समितिको बैठकले थप निर्णय गर्ने पनि जानकारी गराएका थिए । ओलीले जानकारी गराएसँगै बैठकले सहमतिको स्वागत गरेको छ ।
बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टीबीच भोलि बेलुकासम्म एकता हुने बताए ।
पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रिय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेले भोलि ११ बजेको लागि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
स्रोतका अनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ । यस्तै पार्टी एकता भएपछि ४३ सदस्यीय स्थायी समिति र ४ सय ४१ सदस्यीय केन्द्रिय समिति बनाउने दुई पार्टीबीच समझदारी भएको छ । यस्तै चुनाव चिन्ह भने सूर्य रहने बताइएको छ ।
एमाले र माओवादी केन्द्रबीच गत असोज १७ गते कार्यगत एकताको घोषणा गर्दै निकट भविष्यमा पार्टी एकता गर्ने समझदारी भएको थियो । विभिन्न चरणको छलफल र समझदारी हुँदै दुई पार्टी एकताको अन्तिम बिन्दुसम्म आइपुगेका हुन् ।