१८ असार २०८३, बिहीबार

मुख्य समाचार : दुई कम्युनिस्टबीचको ऐतिहासिक एकता आज, पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

मुख्य समाचार : दुई कम्युनिस्टबीचको ऐतिहासिक एकता आज, पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, ३ जेठ– लामो समयदेखि एकताको प्रयासमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार बिहान दुई घन्टाको छलफलपछि एकताको अन्तिम टुंगो लागेको हो ।

दुई अध्यक्षबीचको सहमति अनुसार दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । १७ असोज ०७४ मा राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकता तथा वाम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक गरेका दुवै दलले साढे सात महिनापछि एकीकृत पार्टी घोषणा गर्न लागेका हुन् ।

मदन–आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । आन्तरिक छलफल र पार्टी एकता संयोजन समिति बैठकबाट सबै प्रक्रिया पूरा गरी बिहीबारै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।

बुधबार साँझ बसेको एमाले स्थायी समिति बैठकमा ओलीले र माओवादी हेडक्वार्टर बैठकमा प्रचण्डले दुई नेताबीचको सहमतिबारे ब्रिफिङ गरेका थिए । 

एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुनेछ । नयाँ पार्टीको संरचनामा केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । 

त्यसैगरी स्थायी समिति ४३ सदस्यीय र पोलिटब्युरो १४५ सदस्यीय बन्ने छ । आजै पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ भने एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५औँ स्मृति दिवसमा मदननगर बल्खुमा हुने कार्यक्रममा एमालेका अध्यक्ष ओलीसहित केन्द्रका अध्यक्ष दाहाल पनि सहभागी हुने भएका छन् । 

कांग्रेसले विषयगत समितिमार्फत धारणा व्यक्त गर्ने 
नेपाली कांग्रेसले नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विषयगत समिति गठन गरी पार्टीको ठोस धारणा व्यक्त गर्ने भएको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारद्वारा चालु संसद अधिवेशनमा प्रस्तुत गरिने बजेट र नीतिका सम्बन्धमा विषयगत समितिमार्फत छलफल गर्ने निर्णय गरेको हो । 

बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीलाई संसदमा भएका दलहरूको सहमतिका आधारमा पारित गर्नुपर्ने निष्कर्ष निकालेको मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि 
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । 

नक्कली नोटसहित पक्राउ
काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सार्वजनिक गरेको हो । मेसिन र पैसा छाप्दै गर्दाको प्लेटसमेत प्रहरीले सार्वजनिक गरेको छ । 
रु एक लाखलाई रु १० हजारमा बेच्ने गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ । 

नियमावली पारित हुन सकेन
पुर्पक्षका लागि थुनामा रहेका सांसदको पद निलम्बन हुने कि नहुने भन्ने विषयमा प्रमुख दलहरूबीच विवाद भएपछि प्रतिनिधिसभा नियमावली अझै बन्न सकेको छैन ।

संसदमा विचाराधिन अवस्थामा रहेको नियमावली मस्यौदामा पुर्पक्षका लागि रहेका सांसदको पद निलम्बन नहुने प्रस्ताव गरिए पनि नेकपा एमालेले त्यसमा संशोधन दर्ता गराएपछि विवाद बल्झिएको हो ।

बुधबारको संसद बैठकबाट नियमावली पारित गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्ष कांग्रेसले संशोधन प्रस्तावको प्रक्रिया नै अघि बढ्न नदिने चेतावनी दिएपछि शीर्ष तहमा फेरि छलफल गरेर सहमतिको पहल गर्ने भन्दै बैठकको कार्यसूचीमा यो विषय समावेश गरिएन ।

प्रदेशसभाको दोसो अधिवेशन शुरु
प्रदेश नं ७ प्रदेशसभाको दोस्रो अधिवेशन बुधबारदेखि शुरु भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६ का लागि ल्याइने बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति (कर प्रस्तावबाहेक) मा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । 

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गरेको प्रस्तावमा जनताको विकासप्रतिको चाहना र सरकारको नीतिबीच तादम्यता कायम गर्ने, संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने, पूर्वाधारको विकास, प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य समाहित छन् ।

धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश
प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश गरेको छ । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनलाई आधार मानेर वडा नं ५ को गुण्डाबाट माछेखोलामा सार्न दुई तिहाइ गाउँपालिकाका सदस्यले गरेको निर्णयअनुसार सम्बन्धित मन्त्रालयमा केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकले कास्कीको माछापुच्छे« गाउँपालिकाका वडाको सिमाना हेरफेर गर्ने निर्णय पनि गरेको छ । प्रदेशको आर्थिक कार्यविधि नियमावली नबन्दासम्म नेपाल सरकारको आर्थिक कार्यविधि नियमावली २०६४ बमोजिम कार्यसम्पादन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश खोप ऐन, २०७५ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।    यही आव २०७५÷७६ को बजेट अधिवेशन आगामी जेठ १६ गते ४ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय पनि भएको छ ।

कामिरीताको नयाँ विश्व कीर्तिमान
आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएका हुन् ।

कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोडेका हुन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा जन्मेका ४८ वर्षीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन् । 

सन्दीप लामिछाने विश्व एघारमा
राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् । गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल यही जेठ १७ गते (मे ३१ मा) इङग्ल्यान्डको लर्ड्समा हुनेछ । वेष्ट इन्डिज टि ट्वेन्टीको विश्वकप विजेता टोली पनि हो ।

बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाई नाम फिर्ता लिएपछि सन्दीपले मौका पाएका हुन् । भारतमा भएकै इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय सन्दीपकै लागि उक्त ऐतिहासिक खेल हुनेछ । 

त्यस्तै सन्दीप वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग (सिपीएल) मा पनि परेका छन् । विश्व एघारमा इयान मोर्गनले कप्तानीकै भूमिका निभाउनेछन् । त्यस्तै उक्त टोलीमा सन्दीपसँगै पाकिस्तानी ब्याट्सम्यान साहिद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्यालेनघान, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोचीले खेल्नेछन् ।

यस्तै वेष्ट इन्डिजको कप्तानमा भने कार्लोस ब्राथवे छन् । उनको टोलीमा क्रिस गेल, मार्लोन सामुएल्स, एभिल लेविस, आन्द्रे रसेललगायत खेलाडीले खेल्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्