
काठमाडौं, ३ जेठ– एकीकृत पार्टीमा समान हैसियतको अडान लिँदै आएको नेकपा माओवादी केन्द्रले अन्ततः केन्द्रीय कमिटीमा ४५ प्रतिशत भाग पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तरको वान टु वान वार्ताबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ४५–५५ को प्रतिनिधित्वमा सहमत भएका हुन् ।
ओली र प्रचण्डबीच बुधबार बिहान बालुवाटारमा भएको निर्णायक वार्तामा एकता गर्ने सहमति भएको थियो । सहमति पछि दुबै पार्टीले एकतालाई अनुमोन गरिसकेका छन् भने कुनै प्राविधिक समस्या नआए आज अपरान्ह औपचारिक कार्यक्रममार्फत एकताको घोषणा गर्ने तयारी भएको छ ।
दुई पार्टीबीच भएको सहमतिअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाइने भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० जनाको प्रतिनिधित्व हुनेछ ।
एमाले स्रोतका अनुसार स्थायी कमिटी ४३ सदस्सीय बनाउने समझदारी भएकोमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् ।
दुई पार्टीले भोलि नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी थालेका छन् । दुई पार्टीबीच सूर्य चिन्ह नै चुनाव चिन्ह राख्ने सहमति भएको छ । सूर्य एमालेको हालको चुनाव चिन्ह हो । यस्तै महाधिवेशनसम्म ओली र प्रचण्ड नै अध्यक्ष रहने छन् ।
बुधबार नै बसेको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी भएको जानकारी गराएका थिए ।
साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकमा ओलीले पार्टी एकता गर्ने सहमति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको जानकारी गराएका हुन् ।
ओलीले बिहिबार बिहान १० बजे बस्ने एकता संयोजन समितिको बैठकले थप निर्णय गर्ने पनि जानकारी गराएका थिए । ओलीले जानकारी गराएसँगै बैठकले सहमतिको स्वागत गरेको छ ।
बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टीबीच बेलुकासम्म एकता हुने बताएका थिए ।
पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रिय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेले आजै ११ बजेको लागि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
बुधबार नै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक पनि बसेको थियो ।
बैठकले एकतालाई अनुमोदन गरेको थियो ।
एकता अघि के–के हुँदैछ ?
मदन–आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बिहान पुरानो पार्टी कार्यालय बल्खुमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका छन् ।
मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रमुख वक्ता प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महत्वपूर्ण घोषणा गर्ने बताइएको छ ।
यस्तै बिहान १०ः०० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । बैठकबाट एकताको निर्णय हुने छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संयोजन समितिको बैठक बोलाइएको हो ।
बिहान ११ः०० बजे एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ भने १ः०० बजे माओवादी सचिवालयको बैठक बसने छ । दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् ।
त्यसपछि दिउँसो ३ः०० बजे दुवै पार्टीको संयुक्त बैठक बस्ने छ । दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी भएको हो । बैठकमा दुवै पार्टीका नेताहरू सहभागी हुनेछन् ।
यसैगरी दिउँसो ४ः०० बजे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ । एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ ।
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ ५ः०० बजे पत्रकार सम्मेलन गरेर एकताको औपचारीक घोषणा हुने छ । राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्न लागिएको हो ।
एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी बन्नेछ ।
८ महिनाको कसरत
पार्टी एकता गर्ने समझदारी भएको ८ महिना पुग्नैलाग्दा नेकपा एमाले र माओवादी केन्द्र घोषणाको अन्तिम बिन्दूमा आइपुगेका हुन् ।
गत असोज १७ गते दुई पार्टीबीच कार्यगत एकता घोषणा गर्दै निकट भविष्यमा एकता गर्ने सहमति भएको थियो । त्यसयता विभिन्न चरणको छलफल हुँदै दुई पार्टी एकताको बिन्दूसम्म आइपुगेका हुन् ।