१५ असार २०८३, सोमबार

मुख्य समाचार : नेकपा इतिहासकै शक्तिशाली र एसियाकै तेस्रो ठूलो कम्युनिस्ट, स्वास्थ्य परीक्षणको एकाधिकार तोडियो

मुख्य समाचार : नेकपा इतिहासकै शक्तिशाली र एसियाकै तेस्रो ठूलो कम्युनिस्ट, स्वास्थ्य परीक्षणको एकाधिकार तोडियो

काठमाडौं, ४ जेठ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेको छ । साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पुर्‍याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका हुन् । 

६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको हो । एमाले र माओवादीको एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एसियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको हो ।

अब प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ ।

बिहीबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारीक घोषणा गरिएको हो । घोषणासभामा शीर्ष नेताहरूले देशमा स्थिरता र समृद्धिका लागि नयाँ अध्याय सुरु भएको बताएका छन् ।

नेकपाका सहअध्यक्षद्वय केपी ओली र प्रचण्डले शान्ति, स्थिरता र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन अब नयाँ इतिहास रच्दै अघि बढेको घोषणा गरे । गत १७ असोजमा पार्टी एकता र चुनावी तालमेलका लागि भएको ६ बुँदे सहमतिलाई ७ फागुनमा सातबुँदे सहमतिमार्फत थप मूर्त रूप दिँदै एकतालाई निष्कर्षमा पुर्‍याइएको हो ।

नयाँ पार्टी दर्ताका लागि बिहीबार नै निर्वाचन आयोगमा निवेदन दिइएको छ । ४४१ केन्द्रीय सदस्यमध्ये बैठकमा उपलब्ध सदस्यहरूको हस्ताक्षरसहितका कागजात बोकेर सहअध्यक्षद्वय ओली र प्रचण्ड आफै आयोग पुगेका थिए ।

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय
सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । मलेसियाले भिसा प्रक्रियाका नाममा पाँच कम्पनीमार्फत उठाउँदै आएको शुल्क पनि सरकारले खारेज गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘माइग्राम्स, निश्चित स्वास्थ्य परीक्षण संस्था, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क’ अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । नेपालको स्वीकृतिबिनै ती कम्पनीले वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारबाट १८ हजार ८ सय रुपैयाँ उठाइरहेका थिए ।

यस्तै सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ‘एकाधिकार’ समेत तोडेको छ । मन्त्रालयले ३९ वटा स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गर्ने प्रावधान हटाउँदै स्वास्थ्य मन्त्रालयबाट स्वीकृत सबै स्वास्थ्य संस्थामा गरिने परीक्षण मान्य हुने निर्णय गरेको हो ।

श्रमले गैरकानुनी शुल्क उठाउने कम्पनीको कारोबारबारे थप अनुसन्धान गर्ने तयारीसमेत गरेको छ । श्रम मन्त्रालयले मलेसिया सरकारलाई विगतका आफ्नो निर्णय खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरेको छ ।

श्रममन्त्री गोकर्णराज विष्टले बिहीबार पत्रकार सम्मेलन गरी नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानूनबमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउन सकिने जानकारी गराए । यो निर्णयबाट नेपाली कामदारलाई झण्डै १८ हजार बचत हुनेछ । 

झन्डा कसले बिगार्यो हेक्का भएन
प्रदेश नम्बर २ का कर्मचारीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा जनकपुरमा राष्ट्रिय झन्डाको स्वरूप बिगारेको बारे हेक्कै नभएको स्पष्टिकरण दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको दुई पाना लामो स्पष्टिकरणमा प्रदेश नम्बर २ का प्रमुख सचिव हरि फुयाँल, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, जनकपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरेले झन्डा कसले कार्यक्रम स्थलमा राखेको भन्ने आफूहरूलाई जानकारी नभएको स्पष्टिकरण दिएका हुन् । 

पराजुली बाहेकका कर्मचारीले आफूहरुलाई मञ्च व्यस्थापनको सिलसिलामा सबै ठाउँमा जानसमेत नदिइएकाले स्वरूप बिगारेको झन्डा कसले राखेको हेक्का नभएको स्पष्टिकरण दिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशन सकियो 
प्रदेश नं. २ को प्रदेश सभाको पहिलो अधिवेशन सकिएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले धन्यवाद मन्तव्य राख्दै पहिलो अधिवेशन समाप्त भएको घोषणा गरे । 

२०७४ साल फागुन २० गतेबाट शुरु भएको पहिलो अधिवेशनमा जम्मा २६ पटक बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । सो क्रममा कुल २५ घण्टासम्म बैठक चलेको थियो । पहिलो अधिवेशनबाट २ वटा विधेयकसमेत पारित भएको छ । सचिवालयका अनुसार आर्थिक कार्यविधि विधेयक र विनियोजन विधेयक पारित भएको हो ।

संसदमा संकल्प प्रस्ताव दर्ता
प्रदेश नं ३ को प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ । नेपाली काँग्रेसका सांसद्हरु प्रभात तामाङ, छिरिङदोर्जे लामा र निमा लामाले भूकम्प पीडितको आवास र पुनः निर्माण कार्यमा उल्लेख्य प्रगति नभएको भन्दै संकल्प प्रस्ताव पेश गरेका हुन् । 

संकल्प प्रस्तावमा सरकारी भवन, सार्वजनिक भवन, विद्यालय, गुम्बा, मठमन्दिर र अन्य भौतिक संरचना क्रमबद्ध रुपले पुनः निर्माण गर्न, नागरिकको घर निर्माणका लागि विनियोजित रकम अपर्याप्त भएकाले थप अनुदान रकम उपलब्ध गराउन प्रस्ताव गरिएको छ ।

यसैगरी पुनः निर्माणका लागि कर्जा रकम बढीमा १५ लाख १५ वर्षको अवधिका लागि निब्र्याजी मासिक किस्ता चुक्ता गर्ने व्यवस्था मिलाउन, पुनः निर्माणका लागि कर्जा दिँदा नागरिकताको प्रमाणपत्र र जग्गाधनी पुर्जा कायम गर्न र जग्गाधनी पुर्जा मात्र रोक्का गरी कर्जा उपलब्ध गराउनुपर्ने प्रस्ताव समेटिएका छन् । 

पल्सर स्पोर्टस अवार्ड
पल्सर स्पोर्टस् अवार्डको १५ औं संस्करणमा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिएको छ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मान गरिएको हो । 

नेपाल खेलकुद पत्रकार मञ्चले भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड क्रिकेटका पारस खड्काले जितेका छन् ।

वर्षको उत्कृष्ट महिला खेलाडी अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले जितेकी छिन् । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफ स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक बनेका छन् ।.

उत्कृष्ट युवा खेलाडी स्पिनर सन्दीप लामिछाने र पारा एथलिट अवार्ड बास्केटबल तथा क्रिकेट खेलाडी हिमाल अर्याललाई प्रदान गरिएको छ । भने स्पेशल अवार्ड करन केसीले जितेका छन् । 

लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबल खेलाडी अशोक केसीलाई प्रदान गरिएको छ । त्यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठले जितेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्