
काठमाडौं, ४ जेठ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही अवैध आप्रवासीका लागि प्रयोग गरेको ‘जनावर’ शब्दको बचाउ गरेका छन् । उनले हिंसक समुहका सदस्यका लागि यो शब्द प्रयोग गरिरहने बताए ।
आफूले यो शब्द एमएस–१३ का सदस्यहरूका लागि गरेको र फेरि पनि यो शब्द प्रयोग गर्न कुनै संकोच नहुने उनले बताए ।
ह्वाइट हाउसमा संवाददाताहरूसँगको कुराकानीमा ट्रम्पले भने, ‘एमएस–१३ तथा अन्य समूहका सदस्य हाम्रो देशमा आए भने म उनीहरूलाई जनावर नै भन्छु । थाहा पाइराख्नुस्, म उनीहरूका लागि यही शब्द प्रयोग गर्नेछु ।’
उनले थपे, ‘हामी हजारौंको संख्यामा उनीहरूलाई निकालिरहेका छौं । तर यो संख्या ठूलो छ र खतरनाक काम पनि हो । उनीहरू फर्केर आउन पनि सक्छन् अनि नयाँ समूह पनि आउन सक्छन् ।’
ट्रम्पले विवादास्पद टिप्पणी क्यालिफोर्नियाको कानून कार्यान्वयन अधिकारीहरूसँगको बैठकमा गरेका थिए । ह्वाइट हाउसमा क्यालिफोर्निया सेन्चुरी स्टेट राउन्डटेबलमा उनले भने, ‘मानिस हाम्रो देशमा आइरहेका छन्, आउने कोशिश
गरिरहेका छन् । हामीहरू तीमध्ये केहीलाई यहाँ आउनबाट रोक्न खोज्दैछौं, केहीलाई देशबाहिर निकाल्दैछौं । यी मानिस कति खराब छन् भन्ने तपाईंलाई विश्वास नलाग्ला । यिनीहरू जनावर हुन् ।’
ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले राष्ट्रपति स्पष्ट रूपमा एमएस–१३ समूहका सदस्यका बारेमा बोलिरहनुभएको थियो । उनीहरू देशमा अवैध रूपमा आउँछन् । राष्ट्रपतिले प्रयोग गरेको शब्द धेरै कडा छ जस्तो मलाई लाग्दैन
किनकि यो समूहले जघन्य अपराध गरिसकेको छ ।’
एजेन्सी