
काठमाडौं, ५ जेठ– नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयमा नेकपाको कार्यालय रहने भएको हो ।
यस्तै सो पार्टीको जनवर्गीय संगठनका कार्यालय पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यलायमा रहने भएका छन् ।
यसैबीच, दुवै पार्टीको पुरानो कार्यालयमा राखिएको बोर्ड शुक्रबार फेरिएको छ । एकताको भोलिपल्ट अध्यक्षद्वयले दुवै कार्यालयमा गएर पदभार ग्रहण गरे ।
नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तत्कालिन माओवादीको केन्द्रीय कार्यालय रहेको कोटेश्वर पेरिसडाँडा पुगे । अपराह्न धुम्बाराहीस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा गएर पदभार सम्हालेपछि अध्यक्षद्वयसहित सचिवालय सदस्यहरु पेरिसडाँडा पुगेका थिए ।
यसैबीच, नेतृत्व तहबाट व्यवस्थापनमा लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तीन महिनाभित्र तल्लो तहसम्मैको संगठन व्यवस्थापनको तयारी थालेको छ । एमाले र माओवादी मिलेर बिहीबार मात्र एकीकरण भएको नेकपाका नेता केन्द्रीय सदस्यको नाम टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेका थिए ।
स्थानीय तहमा सात हजार कर्मचारी अपुग
निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन् । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब सात हजार कर्मचारी अपुग भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी शाखा प्रमुख प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
उनका अनुसार २२० उपसचिव, ५२६ शाखा अधिकृत र छ हजार २०० नायब सुब्बा तहका कर्मचारी सात सय ५३ स्थानीय तहमा अपुग भएका छन् । दुई सय २० उपसचिव नहँुदा नगरपालिका निमित्त प्रमुख प्रशासकीय प्रमुखका भरमा सञ्चालन भएको छ ।
मन्त्रालयले अन्य मन्त्रालयबाट अपुग कर्मचारी माग गरे पनि नपठाइएपछि स्थानीय तहमा कर्मचारी पठाउन नसकेको हो ।
विधेयक स्वीकृत
सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ स्वीकृत भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विधेयकमा नजरबन्दमा रहेका व्यक्ति र तीनका नजिकका नातेदारलाई त्यसबारे जानकारी दिनुपर्ने भन्ने नयाँ प्रावधान राखिएको छ ।
यसैबीच, आगामी सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको वार्षीक नीति तथा कार्यक्रम पेश गर्ने भएकी छन् । त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आह्वान गरिएको छ । नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ मा सरकारले संसदमा बजेट पेश गर्नेछ ।
रोजगारीका लागि मलेसिया जाने प्रक्रिया बन्द
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ । सरकारले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि व्यवसायीले बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराएका हुन् ।
श्रम तथा रोजगार मन्त्री गानेकर्ण बिष्टले मलेसिया जाने काकदारमाथि अवैधानिक रुपमा लादिएका सबै सिन्डिकेट खारेजीको घोषणा गरेपछि स्वास्थ्य संस्थाले सरकारलाई दबावमा पार्ने गरी परीक्षण रोकेका हुन् ।
माइग्राम्स र बायोमेट्रिक बन्द भएसँगै तत्कालका लागि मलेसियामा कामका लागि जाने प्रक्रिया रोकिएको छ । अब नयाँ कामदारले स्वास्थ्य परीक्षण गर्नै नपाउने भएका छन् ।
डा. यादवविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार निमित्त निर्देशक डा. यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि रु ३७ हजार घुस मागेको अभियोग लागेको छ ।
आयोगले बिगो असुल गरी चार महिना कैद सजाय माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।
दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार शुक्रबारमात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन् । आरोहणको पाँचाैंदिन बिहीबार २५ जनाले आरोहण गरेका थिए । वैशाख ३० गते आठ जना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको पहिलो आरोहण शुरु भएको थियो । आरोहणको चौथो दिन बुधबार सबैभन्दा बढी ९४ जना सगरमाथाको चुचुरोमा पुगेका थिए ।
यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अबको तीन÷चार दिनभित्र सबै आरोही चुचुरोमा पुगिसक्ने बताइएको छ ।
कर्णाली प्रदेशको अधिवेशन जेठ ११ मा आह्वान गर्न सिफारिश
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन यही जेठ ११ गते आह्वान गर्न कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको छ ।
शुक्रबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशको प्रदेशसभा दोस्रो अधिवेशन जेठ ११ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष सिफारिश गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिए ।
बैठकले हुम्ला जिल्लाको गुठीचौर र तातोपानी गाउँपालिकाको केन्द्रसम्बन्धी विवाद समाधानका लागि मुख्य मन्त्री कार्यालयका सचिव यज्ञराज बोहोरा, युवराज न्यौपाने र आन्तरिक मामिला मन्त्रालयका सचिव उपेन्द्रकेशर खनाल सहितको तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
आईपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन
इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिए ।
दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५.२५ इकोनोमीमा बलिङ गरेका हुन् ।
सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनाको विकेट लिदैं ऐतिहासिक सफलता हात पारे । १५ रन बनाएर खेलिरहेका रैनालाई सन्दीपले विजय शंकरको हातबाट क्याच गराए ।
आईपीएलमा यो सन्दीपको दोस्रो खेलमा दोस्रो विकेट हो। यसअघि डेब्यू खेलमा सन्दीपले बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए । बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।
सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि आइपीएलमा दिल्ली डेयरडेभिल्सले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको छ । पहिले ब्याटिङ गर्दै दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नइ निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो ।
आफ्नो टोलीलाई जिताउन महत्वपूर्ण भुमिका खेलेपछि स्टाइलिस प्लेयर भएका सन्दीपले आफूले सकेसम्म राम्रो प्रयास गरेको प्रतिक्रिया दिएका छन् । विकेट हल्का स्किडी (चिप्लो खालको) रहेको भन्दै उनले सवै खेलाडीहरुको योगदानबाट जित सम्भव भएको बताए ।
चेन्नई सुपर किङ्सविरूद्ध उत्कृष्ट बलिङ गर्दै २१ रन खर्चिएर १ विकेट लिएका नेपाली युवा सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ दि म्याच भएका छन् ।
लाङटाङ म्याराथन आज हुँदै
रसुवामा शनिबार तेस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथन हुँदै छ । जिल्लाको पर्यटकिय क्षेत्र लाङटाङस्थित क्याङजिन गुम्बाबाट शुरु हुने म्याराथनको सम्पूर्ण तयारी पुरा भएको आयोजनले जनाएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का मिडिया संयोजक गोपाल श्रेष्ठका अनुसार म्याराथनमा सहभागी सबै क्याङजेन पुगिसकेका छन् । म्याराथनमा ९५ जना नेपाली र पाँचजना विदेशीको सहभागिता रहने श्रेष्ठले बताए ।
बिहान ८ बजे क्याङजिङ गुम्बादेखि म्याराथन शुरु भई घोडा तबेला, शेर्पागाउँ, खान्जिम हुँदै स्याफ्रुबेशी आएर टुंगिने सहयोगी संस्था हरित युवा पर्यटन विकास समाज रसुवाका अध्यक्ष प्रमोद कुमार तितुङले बताए ।