
विराटनगर, ५ जेठ– वृद्धा अवस्थामा घर परिवारबाटै सकेसम्म अपहेलित हुन नपरोस् भन्दै सुनसरीको इनरुवा नगरपालिकाले नगरभित्र उत्कृष्ट बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ ।
नगरपालिकाको कार्यालयले सासु–ससुराको स्याहारसहित सम्मान र मायाँ गर्ने वुहारीको खोजी गरी सम्मान गर्नेछ । उत्कृष्ट बुहारीको खोजीकालागि नगरभित्रका १० वटै वडामा छनौट समिति गठन गरिने छ ।
प्रत्येक वडाबाट २ जनाका दरले नगर स्तरिय प्रतिस्पर्धाका लागि छानिने २० जना असल बुहारी मध्ये उत्कृष्ट २ लाई सम्मान गरिनेछ । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले उत्कृष्ठ हुने बुहारीलाई सुनको सिक्री दिने बिषयमा प्रक्रिया अघि बढाइएको बताए ।
वृद्धवृद्धाको सम्मानका लागि त्यसखालको कार्यक्रम प्रभावकारी हुने नगरपालिकाको विश्वास छ । सन्तानबाट टाढीनु र अपहेलित भई वृद्धाश्रमको बास बस्नुपर्ने बाध्यता मुक्त नगरको परिकल्पना अनुरुप बुहारी सम्मान कार्यक्रम गर्न लागिएको नगरप्रमुख मेहताले बताए ।
उत्कृष्ट बुहारी हुनका लागि भने सम्बन्धित बुहारीका सासु–ससुराको मन्जुरी अनिवार्य गरिएको छ । पुरस्कार हात पारेपछि सासु–ससुराको वेवास्ता गरेको पाइएमा दिइएको पुरस्कार फिर्ता लिईने र सो परिवारका लागि नगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवासुविधा समेत कटौती गरिने नगरप्रमुख मेहताले बताए ।