
काठमाडौं, ५ जेठ– अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा एक किशोरले अन्धाधुन्ध गोली चलाएर दशजना विद्यार्थीको हत्या गरेका छन् ।
घटनामा कैयौँ विद्यार्थी घाइते भएका छन् । ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा गोली चलेको सीएनएनले जनाएको छ ।
घटनामा संलंग्न भएको आरोपमा १७ वर्षीय दिमित्रोस पगोत्र्जिसलाई हिरासतमा लिइएको छ । प्रहरीका अनुसार विद्यालय परिसरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘टेक्सासमा भएको अपूरणीय क्षतिप्रति म दुःख व्यक्त गर्दछु । सान्टा फि विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारी, यो त्रासदीपूर्ण घडीमा म सधैँ तपाईँहरुको साथमा छु ।’