
काठमाडौं, ७ जेठ – बार्सिलोनाका स्ट्राइकर लियोनेल मेस्सीले पाँचौंपटक युरोपेली गोल्डन शू पुरस्कार जितेका छन् । मेस्सीको टीम बार्सिलोनाले स्पेनिस लीगमा आइतवार खेलिएको खेलमा रियल सोसिएदादलाई १–० ले हरायो ।
बार्सिलोनाको यो जीतपछि मेस्सीलाई गोल्डन शू दिइयो । मेस्सीले स्पेनिस लीगको यस सीजनमा बार्सिलोनाका लागि ३४ गोल गरेका छन् । उनले ६८ अंक पाए ।
मेस्सीले अघिल्लो वर्ष पनि गोल्डन शू पाएका थिए । यसबाहेक उनले २००९–१०, २०११–१२ र २०१२–१३ मा यो पुरस्कार जितिसकेका छन् । पाँचचोटि गोल्डन शू जित्ने उनी एकमात्र खेलाडी हुन् ।
यो पुरस्कारको दौडमा मेस्सीबाहेक लिभरपूलका मोहम्मद सलाह र टोटेनहम हट्स्परका ह्यारी काने पनि थिए । सलाहले ३२ गोलका साथ ६४ अंक अनि ह्यारीले ३० गोलका साथ ६० अंक हासिल गरेका थिए ।
यो पुरस्कार अंकको आधारमा दिइन्छ । यसमा जर्मन, स्पेनिस, इंग्लिश, इटालियन र फ्रेन्च लीगमा खेलाडीहरूले गरेको गोल गनिन्छ र हरेक गोलका लागि दुई अंक दिइन्छ ।
एजेन्सी