काठमाडौं, ९ जेठ–सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका छन् । नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको आज (बुधबार) काठमाडौंमा उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताएका हुन ।
नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन र भेटेरीनरी सेवासँग अभिन्न रुपमा गाँसिएको बताए । ‘नेपालको जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा आधारित रहेको छ, उनले भने, ‘कृषि क्षेत्र पशुपालनसँग अभिन्नरुपमा गाँसिएको छ ।’
भेटेरीनरी एशोसिएसनले ५० वर्षको यात्रा पूरा गरेकोमा बधाई दिदै सभामुख महराले देशको आर्थिक मेरुदण्डको एउटा पाटोको रुपमा संस्थाले गरिरहेको काम र सेवाको निरन्तरताका लागि आग्रह गरे ।
३० वर्षअघि आफू पनि किसान भएको स्मरण गर्दै सभामुख महराले आफूले रोल्पामा कल्याण गाइपालन समूह खोलेर पशुपालन शुरु गरेको बताए । ‘३० वर्षअघि म पनि किसान थिएँ, केशवजी भेटेरीनरी डाक्टर हुनुहुन्थ्यो । उहाँको पहलमा रोल्पाको लिबाङमा कल्याण गाई पालन समूह खोलेर विरगञ्जबाट ५ वटा होलस्टिन गाई ल्याई पालेका थियौं ।’
असल किसान बन्ने विगतको सपना अहिले सम्झिरहेको बताउँदै सभामुख महराले भने, ‘पशुपालन क्षेत्रमा केही राम्रो काम गर्ने र उन्नत गाउँ विकास गर्ने हाम्रो सपना थियो, परिस्थितिले म यहाँ आइपुगें, अहिले त्यो त्यो सपना सम्झिरहेको छु ।’
विगतमा गाई पालेको रोल्पाको आफ्नो जग्गाजमिन १० वर्षअघि निःशुल्क रुपमा पोलिटेक्निकल कलेजका लागि दिएको भन्दै सभामुख महराले गत वर्षदेखि त्यहाँ 'एनिमल साइन्स'को पढाइ शुरु भएको बताए ।
आफूले किसान भएर काम गर्न नसके पनि आफूले गाइपालन शुरु गरेको ठाउँमा अहिले एनिमल साइन्सको पढाइ हुनु आफ्नै सपना पूरा भएजस्तो लागेको महराले बताए । १० महिनाअघि एनिमल साइन्सको कक्षा आफैले पढाएर शुरुवात गरेको उनले बताए ।
देशका प्रत्येक किसान परिवारको न्यूनतम आयआर्जनको क्षेत्र पशुपालन क्षेत्र बनेको बताउँदै सभामुख महराले हरेक परिवारलाई आर्थिक रुपमा सक्षम बनाउन सके मात्रै नेपालको आर्थिक समृद्धि सम्भव हुने उल्लेख गरे ।