
काठमाडौं ११ जेठ– नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले पुराना(बासी) प्रश्न गरेर सत्ता पक्षलाई अल्छि नबनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।
सरकारका नीति तथा कार्यक्रममा भट्टराईले ज्यूदो सरकार भएकोले सपना देखाएको दावी गरे । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा भागलिदै सांसद भट्टराईले कांग्रेसलाई आफ्नै मनको बागले लखेटिरहेको टिप्पणी गरेका हुन् ।
‘प्रतिपक्षी दल कांग्रेसलाई आफ्नै मनको बागले लखेटिरहेको छ, इतिहासको गरुङ्गो भारीले च्यापिरहेको छ’ भट्टराईले भने, ‘प्रतिपक्षले उस्तै बासी प्रश्न गरिरहेको छ । बासी प्रश्न गरेर सत्तापक्षलाई अल्छि नबनाउन आग्रह गर्छु ।’
उनले २०४८ सालको संसदमा जस्तो सरकारले प्रतिपक्षलाई उपेक्षा र निषेध नगर्ने बताए । ‘मनमोनहन अधिकारीमाथि गरिएको बिर्षन लायक संवेदनहीन कदम दोहोरिने छैन’ संसदमा उनले भने ।
सरकारका नीति तथा कार्यक्रम सीमान्तकृत जनताको जीवनमा परिवर्तन र अनुहारमा उज्यालो ल्याउनका लागि भएको उनले दावी गरे ।