०१ साउन २०८३, शुक्रबार
विश्वकप पूर्वसमीक्षा

उत्कृष्ट लयमा स्पेन : यसपटक उचाल्न सक्छ विश्वकप !

उत्कृष्ट लयमा स्पेन : यसपटक उचाल्न सक्छ विश्वकप !

काठमाडौं, ११ जेठ – अधिकांश समय बलमा नियन्त्रण, सटीक पास, खेलाडीहरूबीच गज्जबको तालमेल अनि लोभलाग्दो गोल – करीब एक दशकअघिको स्पेनी फूटबल टीमको कथा हो यो ।

त्यतिबेला स्पेनको टिकीटाका शैलीले विपक्षीहरूलाई धेरैपटक निराश बनायो । यही शैलीमा सन २००८ को युरोकप जितेर शुरु भएको स्पेनको सफलताको यात्रा २०१० को विश्वकप हुँदै २०१२ को युरोकपसम्म कायम रह्यो ।

विपक्षीलाई हत्तपत्त बल छुनै नदिने र विपक्षीकै डिबक्सतिर पास खेलिरहने अनि मौका मिल्नेबित्तिकै फुत्त गोल छिराउने यो स्पेनी शैलीका मेरुदण्ड थिए, बार्सिलोना फूटबल क्लबका तत्कालीन स्टारद्वय जाभी र इनिएस्टा । जाभी र इनिएस्टा आफ्नो फर्मको उत्कर्षमा रहँदा स्पेनलाई अन्य टीमले पछ्याउन पनि कठिन थियो ।

बिस्तारै यी दुई स्टारको खेलमा ह्रास र जाभीको बिदाइसँगै स्पेनको खेल खस्कियो । २०१४ को विश्वकप तथा २०१६ को युरोकपमा पनि स्पेनले सम्झनलायक प्रदर्शन गर्न सकेन । टिकीटाका शैली पनि पहिलेजति प्रभावी देखिएन ।

जाभीको संन्यासपछि स्पेनी टिकीटाकाको मेरुदण्ड नै भाँचियो । इनिएस्टा मात्रले त्यसलाई धान्न सकेनन्, जसका कारण खस्किएको स्पेनको प्रदर्शन टिकीटाकामा थोरै अट्याक पनि मिसाएर नयाँ स्वरूपमा फेरि लय समाउने दिशामा छ ।

पछिल्लो एक वर्षयता स्पेनले निकै आकर्षक फूटबल खेलिरहेको छ । गत मार्चको अन्त्यमा साबिकको विश्व उपविजेता अर्जेन्टिनाविरुद्धको ६–१ को जितले पनि त्यही संकेत गर्छ । स्पेनले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म डोहोर्‍याइसकेको छ, त्यसैले पनि आजको स्पेन रुस विश्वकपको प्रमुख दाबेदारमध्येको एक हो ।

अहिले जुलेन लोपेटेगुइको टीममा इनिएस्टाजस्ता ‘पूर्व बादशाह’ र एसेन्सो, इस्कोजस्ता युवा प्रतिभाको मिश्रण छ ।

स्पेनको तर्फबाट विपक्षीको पोस्टमा आक्रमणको नेतृत्व एसेन्सो, कोस्टा, भक्वेज, रोड्रिगोजस्ता खेलाडीले सम्हाल्नेछन् भने इनिएस्टा, इस्को, कोके, बुस्केट, सिल्भाजस्ता प्रभावशाली मिडफिल्डरहरूको साथ उनीहरूलाई हुनेछ ।

रक्षापंक्तिमा पनि स्पेन बलियो देखिन्छ । पिके, रामोसजस्ता सदाबहार खेलाडीमात्र होइन अल्बा, कार्भाहल, नाचो, मोनेरियल, एचपिलिक्वेटाजस्ता खेलाडी पनि विपक्षीको आक्रमणलाई निष्प्रभावी बनाउने क्षमता राख्छन् ।

पोस्ट सम्हाल्ने डि हेया पनि विश्वकै उत्कृष्ट गोलकीपरमध्येका हुन् । म्यान्चेस्टर युनाइटेडमा रहेर उनले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनको विकल्पका रूपमा नापोलीका पेपे रेइना छन् ।
स्पेन विश्वकपको समूह बीमा छ । उसको समूहमा पोर्चुगल, मोरक्को र इरान छन् ।

स्पेनले जुन १५ तारिखमा पोर्चुगल, २० तारिखमा इरान र २५ तारिखमा मोरक्कोसँग खेल्नेछ ।

सम्बन्धित समाचारहरू :

मेसीमा निर्भर अर्जेन्टिना, विश्वकप जित्ने सम्भावना कति ?

विश्वकपको घाइते बाघ ब्राजिल : गर्ला यसपाली चमत्कार ?

'स्टार' खेलाडीको जमघटले फ्रान्स पनि विश्वकपको प्रबल दाबेदार

विश्वकप फूटबल प्रिभ्यु : जर्मनी फेरि च्याम्पियन बन्ने सम्भावना कति ?

मेसीको टीमलाई गम्भीर धक्का, चोटका कारण गोलकिपर रोमेरोले विश्वकप गुमाउने

salt training

कमेन्ट गर्नुहोस्