
काठमाडौं, ११ जेठ – नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले सरकारले संसदमा पेश गरेका तीनवटा कुराले आफूलाई आकर्षित गरेको बताएका छन् ।
मुलुकको समृद्धि र दिगोपन आफूले विगतदेखि उठाउँदै आएको एजेण्डा भएको उनले बताए ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाको बैठकमा जारी छलफलमा भाग लिँदै उद्यमी चौधरीले कार्यक्रमको २०, २५ र ४५ नम्बरको बुँदाले आफूलाई आकर्षित गरेको बताएका हुन् । बुँदा नम्बर २० मा अबको विकास सूचना र तथ्याङ्कको विश्लेषणका आधारमा हुनेछन्, भन्ने उल्लेख छ ।
‘हचुवाको भरमा विकास गर्ने प्रथाको अन्त्य गर्ने कुरा स्वागतयोग्य छ,’ चौधरीले भने ।
यस्तै बुँदा नम्बर २५ मा रेमिट्यान्स र आयातमुखी अर्थतन्त्रलाई रूपान्तर गरिने उल्लेख छ । ‘नेपालको अर्थतन्त्रलाई विश्वको अर्थतन्त्रसँग जोड्ने कुरा विश्वव्यापीकरणको सिद्धान्तलाई शतप्रतिशत स्वीकार गरेको हो,’ चौधरीले भने ।
निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण अंगको रूपमा विकास गर्ने ४५ नम्बरको बुँदाको पनि चौधरीले प्रशंसा गरे । ‘नेपालमा विदेशी लगानीकार्ताका लागि सकारात्मक उद्घोष हो, मुलुक हिँड्ने बाटो पनि यही हो, दोहोरो अंकको वृद्धिदेखि समृद्धिको कुरा म आफैँले पनि कोरेको समृद्धिको मार्गचित्रको सामिप्य छ,’ उनले भने ।
चौधरीले २०४६ सालपछि कांग्रेस सरकारले लिएको उदार अर्थनीतिको खुलेर प्रसंशा गरे ।
‘कांग्रेसले लिएको नीति र निजी क्षेत्रको भरोसाका कारण दशकौं लामो राजनीतिक अराजकताबाट बाट नेपालको अर्थतन्त्र जोगिएको हो,’ चौधरीले भने, ‘निर्धक्कका साथ भन्नसक्छु, एकपटकको असल नीतिले दशकौंतर्फ हिँडाउन सक्छ ।’