
काठमाडौँ, १३ जेठ - नेपाली सेनाले सुरक्षा निकायलाई आवश्यक पर्ने सबैखाले गोलीगट्ठामा आत्मनिर्भर बन्ने गरी उत्पादन सुरु गर्ने भएको छ ।
अहिले नै केही गोलीगट्ठा, बारुद, ग्रिनेड (हाते बम) र विस्फोटक पदार्थ बनाइरहेको सेनाले सबै सुरक्षा निकायलाई पुग्ने गरी उत्पादन तयारी अघि बढाएको हो ।
सेनाले सामान्यदेखि अत्याधुनिक साना/ठूला हतियारलाई चाहिने सबै प्रकारका गोली बनाउन आवश्यक उपकरण खरिद गरी इन्स्टलेसन प्रक्रिया सुरु गरेको छ ।
उपकरण किन्न सरकारले केही महिनाअघि नै रकम निकासा गरेको थियो । सेनाले आगामी पाँच वर्षभित्र मुलुकका सबै सुरक्षा निकायलाई नियमित अभ्यास, विकास–निर्माण र लडाइँमा आवश्यक पर्ने गोलीगट्ठा तथा विस्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर हुने दाबी गरेको छ ।
त्यसका लागि आवश्यक कच्चा पदार्थ बाहिर (खासगरी भारत) बाट खरिद गर्ने गरिएको छ । कच्चा पदार्थ खरिद गरेर नेपालमै उत्पादन गर्दा सस्तो पर्नुका साथै सुरक्षा र गोपनीयताको दृष्टिकोणले भरपर्दो हुने सेनाको बुझाइ छ । प्लान्ट सञ्चालनार्थ उपकरण खरिद गर्न अर्थ मन्त्रालयले जंगी अड्डालाई डेढ अर्ब रुपैयाँ निकासा दिइसकेको छ । सेनाका अनुसार उत्पादन सुरु भएपछि सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोलीगठ्ठा, बम तथा विस्फोटक पदार्थ अन्य मुलुकबाट खरिद गर्नु पर्दैन, कान्तिपुर दैनिकमा खबर छ ।